कोशीको मन्त्रिपरिषद् आज विस्तार हुँदै



काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । नेपाली काँग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरिन लागेको हो ।

मुख्यमन्त्री कार्कीले आज अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण हुने जानकारी गराएका छन् । नेपाली काङ्ग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दै छन् । इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो । राज्यमन्त्री थापाको भने मन्त्रालय टुङ्गो लागिसकेको छैन ।

यसै गरी माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जामगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्दै छन् । उनीहरूलाई सामाजिक विकास र खानेपानी मन्त्रालय दिने तयारी छ ।

मन्त्रालयको अन्तिम टुङ्गो लगाएर आजै चार बजे शपथ ग्रहण हुने मुख्यमन्त्री कार्कीले जानकारी दिए । हाल कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगु र पर्यटन वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती छन् ।

प्रतिक्रिया दिनुहोस्