घोडालाई बोकाएर पानीको जाहो गर्दै डोल्पाका बासिन्दा



डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका, ३ सूँ गाउँमा खानेपानीको हाहाकार छ । गाउँका पानी मुहान सुकेपछि पानी अभाव भएको हो । 

मुहान सुकेपछि स्थानीयले गाउँदेखि परको मुहानबाट घोडामा बोकेर खानेपानी ल्याउन थालेका छन् । सूँ गाउँमा सयभन्दा बढी घरधुरी छन् ।

मूल सुकेपछि पानीको हाहाकार भएको सूँ गाउँका सन्तराज धरालाले बताए । गाउँबाट आधा घण्टाको दूरीमा रहेको मुहानमा घण्टौँ लाइन बसेर पानी भर्नुपर्ने र घोडा तथा खच्चडलाई बोकाएर पानीको जोहो गरिरहेको स्थानीय फुला डाँगीले सुनाइन् ।

पुर्खौँदेखि उपभोग गर्दै आएका पानीको मुहान एकाएक सुक्न थालेपछि सूँ गाउँमा खानेपानीको समस्या बढ्दै गएको डाँगीले बताइन् । झुलारामा रहेको सानो मूलबाट पालैपालो पानी थापेर गुजरा चलाउँदै आएका स्थानीय त्यो मूल पनि सक्न थालेपछि झन् चिन्तित बनेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्