कांग्रेसकाे अवराेधपछि प्रदेशसभा बैठक स्थगित



जनकपुरधाम : प्रतिपक्षी दल कांग्रेसले बिपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै प्रदेश सभा २ को बैठक अवरुद्ध बनाएको छ । कांग्रेसको विरोधपछि बैठक स्थगित भएको छ ।

शनिबार बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले २०४९ सालमै विश्वेश्वरप्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न वीरगन्जमा दिइएको जग्गा प्रदेश सरकारले सहिद स्मृति पार्क निर्माण गर्ने नाममा कब्जा गर्न खोजेको आरोप लगाए । उनले यसको छिनाफानो नभएसम्म बैठक स्थगित गर्न माग गरे । त्यसपछि कांग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध गरेपछि सभामुख सरोजकुमार यादवले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरे ।

बिपी उद्यानका लागि छुट्याएको १० बिघा जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सहिद स्मृति पार्क शिलान्यास गरेका थिए । प्रदेश सरकारले सो जग्गा वीरगन्ज महानगरपालिकाको नाममा रहेको र त्यहाँ सहिद स्मृति पार्क निर्माण गर्न इजाजत दिएको दाबी गर्दै आएको छ ।

 

बैठकमा प्रतिपक्षी कांग्रेसका सभा सदस्यले प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति निर्वाचनका लागि गरिएको मनोनयन दर्तामा नेकपाका तर्फबाट किर्ते हस्ताक्षर भएको भनी आएको कुराको छानबिन गरी किर्ते गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्