प्रदेश सरकार आलोचित, स्थानीय तह उत्कृष्ट



कैलाली : गठन भएको एक बर्ष बितिसक्दा पनि बजेट खर्च शून्य, विकास निर्माणमा अन्योल र सुविधाभोगी कानुनमात्रै निर्माण गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले आलोचना खेपिरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिका नगरविकास कोषबाट सञ्चालित योजना कार्यान्वयनमा उत्कृष्ट भएको छ ।

नगरविकास कोषले देशका २ सय १७ नगरपालिकामध्ये धनगढी कार्यसम्पादन र कार्यान्वयनमा उत्कृष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उपमहानगरपालिकालाई सम्मान गरेको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सम्मानपत्र प्रदान गरिएको छ । सहरी विकासमन्त्री महम्मद इश्तियाक राईले उपमहानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा सहरी विकासमन्त्री राईले धनगढी उपमहानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानग्रहण गर्दा आफूहरूलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए ।

तत्कालीन प्रदेश ७ को राजधानी धनगढीबाट सार्ने प्रस्तावपछि भएको आन्दोलनमा प्रदेश सरकार र सांसदलाई धनगढी छाड्न अल्टिमेटम दिएका उपमहानगरपालिकाका मेयर नृपबहादुर वडविरुद्ध असोज ११ गते सासंदहरूले उजुरी हालेका थिए । उनले यो ठाउँ नछाडेमा वा निर्णय नसच्याएमा सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने बताएका थिए ।

मेयरको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै प्रदेशसभा सदस्यहरूले नै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका थिए । 

प्रदेशसभा सदस्यहरू हर्कबहादुर कुँवर, लीलाधर भट्ट, नन्दबहादुर साउद, देवकी मल्ल, अक्कलबहादुर रावल, कृष्ण सुवेदी र गेल्वुसिंह बोहरालगायत २२ जना सांसदले मेयरविरुद्ध उजुरी हालेका थिए । नगरविकास योजना कार्यान्वयनमा उत्कृष्ट धनगढी उपमहानगरपालिकाका मेयर वडविरुद्ध उजुरी हाल्ने प्रदेश सांसद र सरकारले निकै आलोचना खेपिरहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्