पोखरी विवादमा झडप, प्रहरीद्वारा ५ राउण्ड हवाई फायर



सिरहा : सिरहामा पोखरीको विषयलाई लिएर दुईपक्षबीच विवाद हुँदा झडप भएको छ । सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीमा माछा मार्ने विषयलाई लिएर दुईपक्षबीच भएको विवादले उग्र रूप लिँदा झडप भएको हो । 

झडप नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो । 

सुखीपुर नगरपालिकाले ठेक्का लगाएको पोखरीमा स्थानीय माछा मार्न जाँदा ठेकेदारले रोकेपछि विवाद चुलिएको थियो । भनाभन उग्र भएपछि अवस्था तनावग्रस्त भएको र स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । 

झडपमा ११ जना घाइते भएका छन् । 

व्यक्तिगत स्वामित्वमा रहेको पोखरी नगरपालिकाले ठेक्कामा लगाएपछि झडपको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्