प्रहरीमा सरुवा-बढुवाको लर्को



काठमाडौं : यस वर्ष नेपाल प्रहरीमा व्यापक सरुवाबढुवा भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार यस वर्ष सबै दर्जाका ३२ हजार प्रहरी कर्मचारीको सरुवा भएको छ भने ६ हजारको बढुवा भएको छ।

गत वर्षभन्दा यस वर्ष ५ हजार २ सय सरुवा बढी भएको छ। खासगरि प्रहरी जवान र हवल्दारको प्रायः सरुवा नहुने र भए पनि काजमा खटिने गर्थे। उनीहरू लामो समय एउटै कार्यालयमा काम गर्दै आएका थिए। यस पटक उनीहरूको सरुवा भएको छ।

प्राविधिक समूह (इन्जिनियर, स्वास्थ्य, सञ्चारलगायत) को बढुवा प्रहरी नियमावलीका कारण रोकिएको थियो। प्रहरी नियमावली २०७१ मा प्राविधिकको बढुवामा योग्यता निर्धारण गर्ने उल्लेख थियो। 

यसपाला प्रधान कार्यालयले योग्यता निर्धारण गरेरै उनीहरूको बढुवा गरेको छ। प्राविधिकतर्फ प्यारामेडिक्स, आवास तथा भौतिक परियोजना, सवारी, कम्प्युटर, नर्सिङ र विधिविज्ञानमा काम गर्ने प्रहरी कर्मचारीको बढुवा ४ वर्षदेखि भएको थिएन। यसपल्ट सबै दर्जाको बढुवा भएको छ।

जनपदतिर पनि सिपाहीदेखि डीआईजीसम्म बढुवा भएको छ। वैशाख ७ मा सुरु सरुवाबढुवा अझै भइरहेको छ। तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालको पालामा रोकिएको सइको बढुवा वैशाख १९ मा भयो। उपेन्द्रकान्तपछिका आईजी प्रकाश अर्यालले पनि सइको बढुवा गर्न सकेनन्।

५ वर्षपछि सइबाट ७३ जना इन्स्पेक्टरमा बढुवा भए। वैशाखमै १ हजार ३ सय ४६ हवल्दारको बढुवा भयो। ५ सय ५८ असइ बढुवा भएर सइ भए। २२ एसपीको बढुवा एसएसपीमा भयो। १६ एसएसपीको बढुवा डीआईजीमा भयो।

लामो समय रोकिएको प्राविधिक प्रहरी समूह कुकुर स्कुलतर्फको समेत हवल्दारबाट असइमा बढुवा गत साउनमा भयो। धेरै वर्ष हवल्दारमै बसेका ३ जना असइमा बढुवा भयो। प्राविधिकतर्फ हवल्दारदेखि इन्स्पेक्टरसम्म बढुवा भएको छ। माघमा प्राविधिकतर्फ असइदेखि एसएसपीसम्म विभिन्न समूहका ७ सयभन्दा बढीको बढुवा भयो।

आईजी खनालले वैशाखमा सरुवा थालेका थिए। उनले वैशाख १३ गते ५ हजार ३९ जना जवानको सरुवा गरे। उनीहरू लामो समयदेखि एउटै कार्यालयमा कार्यरत थिए। वैशाख २३ मा ७९ एसपीको सरुवा भयो। जेठ ४ मा ११ जना एसएसपीको सरुवा भयो। त्यसयता सबै दर्जाका ३२ हजारको सरुवा भएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार यस वर्ष प्रहरी संगठनमा ऐतिहासिक सरुवाबढुवा भएका छन्। ‘प्रहरीभित्र सरुवाबढुवा स्वाभाविक प्रक्रिया नै हो। तर पनि यो वर्ष अहिलेसम्मकै धेरै कर्मचारीको सरुवाबढुवा भएको छ’, उनले भने, ‘प्रायः प्रहरी जवान र हवल्दारको सरुवा कमै हुन्थ्यो। यो वर्ष अधिकाशंको भएको छ। बढुवा नपाएर निरास प्रहरी कर्मचारी पनि खुसी देखिएका छन्, उनीहरूको मनोबल बढेको छ।’ आजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्