मकैमा फौजी किराको प्रकोपले पर्वतका कृषक चिन्तित



पर्वत : पर्वतका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ । जिल्लाको जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको हो । मकै गोड्ने बेलामा किराले आक्रमण गरेर क्षति पु¥याउन थालेको स्थानीय कृषकले जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तादेखि मकैखेतीमा किराको आक्रमण बढेको जलजला गाउँपालिका–७ धाइरिङका कृषक नवराज आचार्यले बताए । उनले किराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको जानकारी दिए । उनका अनुसार विगत दुई हप्तादेखि मकैमा किराको आक्रमण बढेको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यानगाउँमा देखिएको सङ्क्रमण अहिले बढ्दो क्रममा रहेको बताए। मल्लका अनुसार कृषि प्राविधिकसँग बुझ्दा मकैमा देखिएको सङ्क्रमण फौजी किराको आक्रमण हो ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले स्थलगतरूपमा अनुगमन गरेर मकैमा अमेरिकी फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले कृषकको खेतमै पुगेर रोगको पहिचान गरिएको बताए । रेग्मीका अनुसार जलजलामा करिब १५ रोपनी खेतको मकैमा किराको आक्रमण फैलिएको र प्रकोप बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा छ ।

दक्षिण पर्वतको बिहादी गाउँपालिकामा पनि किराले बालीमा क्षति भएको गुनासो आएकाले प्राविधिकलाई परीक्षणका लागि पठाएको रेग्मीले बताउनुभयो । विहादी गाउँपालिका–४ सहित जिल्लाको दुई हजार हेक्टर मकै लगाइएको क्षेत्रफलमा असर पु¥याएको छ ।

स्थानीय कृषक दीपक भुसालले यसको रोकथाम गर्न गाउँपालिका र कृषिसम्बन्धी निकायलाई अनुरोध गरिएको बताएका छन । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष फलेवास नगरपालिका–४ मुडिकुवामा कृषकले रोपेको बेमौसमी मकै खेतीमा यो रोगको प्रकोप देखिएको थियो । गत वर्ष अरु ठाउँमा रोग नदेखिए पनि यस वर्ष भने ठूलो क्षेत्रमा रोग देखिएकाले कृषकसँगै कृषि प्राविधिकसमेत चिन्तामा परेका छन् । ज्ञान केन्द्रका प्रमुख रेग्मीले कृषकलाई रोग नियन्त्रणका लागि आवश्यक घरेलु विधि र विषादीको बारेमा जानकारी दिने काम भइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्