आगलागीबाट विभिन्न ठाउँमा लाखौंको क्षति



ढल्केवर : प्रदेश २ अन्तर्गत विभिन्न जिल्लामा शनिबार भएको आगलागीबाट करिब १८ लाख १० हजार मूल्यबराबरको धनमाल जलेर नष्ट छ ।

प्रदेश २ को प्रदेश प्रहरी कार्यालय जनकपुरले दिएको जानकारीअनुसार बाराको महागढीमाई नगरपालिका ६ पत्रहट्टीका ४५ वर्षिय पर्शुराम यादवले आफ्नै उखुबारीमा काटिसकेको उखुको पात जलाउने क्रममा सोही आगोबाट अन्य छ जनाको उखुबारीमा आगलागी हुँदा करिब ११ लाख ६० हजार रुपैयाँ बरावरको क्षति भएको छ ।

यसैगरी रौतहटको कटहरीया नगरपालिका–३ बिर्ति प्रस्टोकाका हकिम मिया, हमिद मिया र जगत रायसमेत तीनजनाको २५ कठ्ठा जग्गाको उखुबारीमा आगलागी हुँदा करिब एक लाख ५० हजार रुपैयाँबरावरको क्षति भएको छ ।

सप्तरीको सुरुंगा नगरपालिका ९ टिकुलियाका आलम मियाको गोठ घरमा अचानक आगलागी हुँदा गोठ घर र त्यसभित्र रहेको काठ, अन्नपात, लताकपडा र गोठनजिक रहेको परालको टौवा पूर्ण रुपमा जलेर नष्ट हुँदा करिब दुई लाख मूल्यबराबरको नोक्सानी भएको छ ।

सर्लाहीको चक्करघट्टा गाउँपालिका ९ खोरियाका सन्तोष ठाकुरको घरमा  एक्कासि ग्यास सिलिन्डरबाट आगो सल्किन गई  आगलागी हुँदा एकतले फुसको घर र घरभित्र रहेको लत्ताकपडा र नगद  पाँच हजारसमेत गरी करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै सर्लाहीकै ईश्वरपुर नगरपालिका ८ मनहर्वास्थित सगुन लालको फुसको कुखुरा फर्ममा अचानक आगलागी हुँदा उक्त फर्म पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव तीन  लाख रुपैयाँबराबरको क्षति भएको छ । दमकल र स्थानीयवासीको सहयोगमा र प्रहरी मिलेर नियन्त्रण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्