छिप्रीदह–सेराखेत ढल निकासको काम शुरु



रुकुमपूर्व : रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहमा बढ्दो प्रदूषण रोकी सुरक्षित राख्न तथा बस्न योग्य बनाउन ढल निर्माणको दोस्रो चरणको काम सुरु भएको छ । बढ्दो शहरीकरणका कारण उत्पन्न फोहोर छिप्रीदहमा मिसाइदिँदा दहको स्वरुप बिग्रिदै गएकाले छिप्रीदह–सेराखेत ढल निकासको कामलाई तीव्रता दिइएको हो ।

छिप्रीदह बजार व्यवस्थित नहुँदा बजार नै दुर्गन्धित भएको र घरमा उत्पादन भएको सबै फोहोर दहमा लगेर फाल्ने गरेको गुनासो आइरहेको छ । दह फोहोर तथा प्रदूषित भएका कारण ढल निर्माणको काम गर्ने योजनालाई अगाडि बढाइएको सिस्ने गाउँपालिकाले जनाएको छ ।

गत वर्ष नै न्यू प्लानेट इञ्जिनीयरिङ सर्भिस काठमाडौँले डिपिआर गरेको थियो । कुल रु आठ करोडदेखि नौ करोडसम्मको बजेटमा काम सम्पन्न हुने ढल निकासको काम अहिले गाउँपालिकाले छुट्याएको बजेटमा भइरहेको छ । ढल निकासका लागि गाउँपालिकाले रु २४ लाख बजेटमा पहिलो चरणको काम सम्पन्न गरिसकेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए ।

बन्दाबन्दीले खर्च हुन नसकेको रु ३६ लाख बजेट छुट्याएर ढल निकासको दोस्रो चरणको काम शुरु गरिएको छ । ढल निकासको काम सम्पन्न भएसँगै छिप्रीदह र त्यस आसपासको क्षेत्र सफा देखिने छ । यसले गर्दा पर्यटन व्यवसायमा पनि सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

हुरीले रु ११ लाख क्षति

जिल्लामा हालै आएको हावाहुरीका कारण जिल्लाका विभिन्न ठाउँमा ११ लाखभन्दा बढीको क्षति भएको छ । हावाहुरीका कारण विभिन्न ठाउँमा विद्यालय, सार्वजनिक भवन तथा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरीको कारण जिल्लामा रु.११ लाख ६३ हजार पाँच सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय (रुकुमपूर्व) का सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

उनका अनुसार हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा धेरै क्षति गरेको भए पनि प्रहरीमा निवेदन नपरेकाले विवरण निश्चित भएको छैन । क्षति पुगेका सबैलाई राहतका लागि सिफारिश गरी जिल्ला प्रशासन कार्यालयमा पठाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्