के हो स्वाइन फ्लु ?



काठमाडौं : स्वाइन फ्लु श्वासप्रश्वाससँग सम्बन्धित भाइरल हो । यो एक सिजनल फ्लु पनि हो । स्वाइन अर्थात् सुँगुरबाट मानिसमा सर्ने भएकाले यसलाई स्वाइन फ्लु नाम दिइएको हो । सन् २००९मा यो रोग महामारीको रूपमा विश्वभर फैलियो । त्यसयता स्वाइन फ्लुको नाम इन्फ्लुएन्जा ए पिडिएम जेरो नाइन राखिएको छ । यसलाई सजिलोका लागि इन्फ्लुएन्जा ए भाइरस मात्र भन्न सकिन्छ ।

सर्छ कसरी ?

– स्वाइन फ्लु इन्फ्लुएन्जा ए भाइरसमार्फत संक्रमित व्यक्तिबाट अन्यमा सजिलै सर्छ । इन्फ्लुएन्जा ए भाइरस खासगरी अत्यधिक गर्मी र जाडो (पुस–माघ) हुने समयमा बढी देखिने गर्छ ।  

– यसको भाइरस यी दुई सिजनमा बढी सक्रिय हुने भएकाले कुनै एक व्यक्तिमा हुनेबित्तिकै धेरैमा फैलिने खतरा बढी हुन्छ । उक्त भाइरस हावामार्फत पनि एकबाट अर्कोमा पुग्ने सम्भावना रहन्छ ।

– संक्रमितले प्रयोग गरेका सामान अन्य व्यक्तिले प्रयोग गरेमा र हाछ्युँ गर्दासमेत यो रोग सर्छ ।

लक्षण

– इन्फ्लुएन्जा ए भाइरसको संक्रमण हुँदा सामान्य रुघाखोकी लाग्ने, हाछ्युँ आउने, तीव्र रूपमा ज्वरो आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ । 

– हेर्दा सामान्य रुघाखोकी÷ज्वरो जस्तो देखिए पनि औषधि खाँदासमेत सन्चो 

नहुने हुन्छ । 

– रुघाखोकी बढ्दै जाने, मांशपेसी दुख्ने र अत्यधिक थकाइ लाग्नेजस्ता लक्षण देखिन्छन् ।

– यसबाहेक, टाउको दुख्ने र घाँटी खसखसाउने समेत हुन्छ । 

बच्ने उपाय

-विशेषगरी बालबालिका, गर्भवती, बुढाबुढी र दीर्घरोगीमा  रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । यसर्थ, उनीहरूमा इन्फ्लुएन्जा ए भाइरसको संक्रमण हुने सम्भावना पनि बढी हुन्छ । यसर्थ, उनीहरूले आफ्नो सुरक्षामा ध्यान दिनुपर्छ । धेरै भिडभाडमा नजाने, माक्स लगाएर हिँड्ने, खानपान र जीवनशैलीमा ध्यान दिने गर्नुपर्छ । 

-रोग नलागोस् भनेर सरकारले प्रत्येक वर्ष इन्फ्लुएन्जा खोप दिने गर्छ । यो खोप  अनिवार्य लगाऔँ ।

-खासगरी फोक्सो, मिर्गाैला, मुटु, मधुमेह र स्नायु सम्बन्धी रोगी र मधुमेहका रोगीलाई इन्फ्लुएन्जा हुने गर्छ । तर, नेपालमा यो वर्ष २० देखि ४० वर्ष उमेरका स्वस्थ युवा र वयस्कमा समेत इन्फ्लुएन्जा ए भाइरसको संक्रमण देखिएको छ । यसर्थ, सबैले सतर्क हुन जरुरी छ । 

-संक्रमित व्यक्तिले घरमै आराम गर्न आवश्यक हुन्छ । रुघाखोकी र ज्वरो ठीक नहुँदासम्म भिडभाडमा जानुहुन्न । रोग 

अरूमा नफैलिओस् भन्ने मनसाय बिरामी आफैँले राख्नुपर्छ । 

उपचार

-इन्फुलुएन्जा ए भाइरसको लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । 

-यो रोगका कारण ज्यानै जान सक्ने भएकाले समयमै उपचार गर्न आवश्यक छ ।  नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्