कश्मिरमा पुनः आक्रमण, चार सैनिकको मृत्यु 



एजेन्सी : भारत प्रशासित जम्मु–काश्मिरस्थित पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार भएको एक गोलीबारीमा सेनाका चार जवान मारिएका छन् भने एक जवान घाइते भएका छन् ।  

उक्त इलाकामा गोलीबारी समाप्त भइसकेको छ, तर सेनाको घेराबन्दी अहिले पनि जारी भएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय प्रहरी अधिकारीका अनुसार उक्त इलाकामा चरमपन्थी लुकेको सूचना पाएपछि त्यस क्षेत्रमा सेनाको ५५ आरआर, सिआरपीएफ र एसओसीले संयुक्त अपरेशन सुरु गरेका थिए ।

सेनाले अपरेशन सुरु गरेपछि चरमपन्थीले गोलीबारी सुरु गरे जसमा चार जवानको मृत्यु भयो । यसमा एक मेजर पनि समावेश छन् ।

सेनाको संयुक्त टोली गत हप्ता बिहीबार सरकारी सुरक्षा फौजमाथि भएको हमलापछि चरमपन्थीहरुको खोजी अभियान चलिरहेको छ । केही संदिग्ध इलाकामा सैनिकले फायरिङ गर्दा चरमपन्थीले गोलीबारी सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्