मागबमोजिम धानको बीउ आपूर्तिमा समस्या



कैलाली : कैलालीमा किसानका मागबमोजिम धानको बीउ आपूर्ति हुनसकेको छैन । विगत वर्षमा धानखेती गर्ने समयमा बीउको खपत कम भए पनि यस वर्ष माग बढेर पूर्ति गर्न नसकेको बीउ उत्पादक सहकारी तथा कम्पनीले जनाएका छन् । अघिल्ला वर्ष सीमापारि भारतीय बजारबाट धानको बीउ ल्याएर किसानले छर्ने गर्दथे । यो वर्ष कोरोना भाइरस न्यूनीकरण तथा नियन्त्रणका लागि सीमानाका बन्द छन् । नाका बन्द हुँदा भारतीय बजारबाट बीउ खरिद गर्न नपाउँदा यहाँका सहकारीलाई बीउ आपूर्तिमा समस्या भएको छ ।

यतिखेर किसानका माग बढेर पूर्ति गर्न नसकेको बीउ उत्पादक सङ्घ तथा बीजवृद्धि कृषि सहकारी मुनुवाका अध्यक्ष रामफल कठरियाले बताए । “धानको बीउको माग आफूहरुसँग भएको भन्दा तेब्बर बढी छ”, अध्यक्ष कठरियाले भने, “कसरी धान्नु ? हामीसँग दुई हजार क्विन्टल धानको बीउ मौज्दात थियो, सकियो । माग थेग्न कठिन छ ।”

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा ११ सहकारीले बीउ उत्पादनको काम गर्छन् । उनीहरुसँग पाँच हजार क्विन्टल धानको बीउ छ । यही बीउ बजार र किसानलाई पूर्ति गर्ने गरेका छन् । यस वर्ष किसानका माग धेरै आएकाले धानको बीउ खोज्दै आउने किसानलाई फर्काउनुपरेको सहकारी सञ्चालकको भनाइ छ ।

स्थानीय क्षेत्रसँगै बाह्य क्षेत्रबाट बीउको माग धेरै आएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए । “किसानको माग अन्य धानभन्दा सर्जु ५२ जातको छ”, अध्यक्ष चौधरी भन्छन, “विगतका वर्षभन्दा यस वर्ष मागबमोजिम किसानलाई दिन सकिएको छैन । बीउ नपाएपछि धेरै किसानले गल्ला मण्डीसँग खरिद गरेको धानलाई समेत बीउका रूपमा प्रयोग गर्न थालेका छन् ।”

टीकापुर र जानकीमा करिब साढे तीन सय हेक्टरमा धानबालीको बीउ उत्पादन हुने गरेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अनुदान सहयोगसँगै बीउ उत्पादक कम्पनी तथा सहकारीले आफ्नो लगानीमा बीउ उत्पादन गरिरहेका छन् । बीउमा माग बढ्दै जाँदा खेती विस्तार गर्नुपर्ने आवश्यक भएको बीज वृद्धि कृषि सहकारीका अध्यक्ष कठरिया बताउछन ।

“किसानले बीउ पाउन कठिन भएको छ”, कठरिया भन्छन “किसानको माग हेर्दा अब कृषि सहकारीले बीउ उत्पादनमा बढी जोड दिनुपर्ने देखिएको छ ।” उन्नत तथा गुणस्तरीय बीउको प्रयोगले उत्पादनमा वृद्धि हुने भएकाले धेरै किसानले नयाँ उन्मोचित धानको बीउ प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्