ठूल्ठूला ढुंगा बर्सिँदा सिंगो बस्ती नै जोखिममा



कालिकोट : अव्यवस्थित सडक निर्माण हुँदा कालिकोटको एक बस्तीमा निरन्तर पहिरो खस्न थालेको छ । बस्तीको सिरानीबाट डोजरले सडक खनिरहँदा तल रहेको बस्तीमा निरन्तर माटो तथा ढुंगा खसिरहेका छन् ।

ठूल्ठूला ढुंगा खस्न थालेपछि सान्तीत्रिवेणी गाउँपालिकाका वडा नं. १ र २ सेरीज्युलाको बस्ती नै पहिरोको चपेटामा पर्ने खतरा बढेको छ । 

भौगोलिक र वातावरणीय मूल्यांकनबिना नै धमाधम बस्तीमाथिबाट सडक निर्माण गरिएपछि अहिले सानो पानी आउँदा पनि पहिरो खस्न थालेको स्थानीयले गुनासो गरे । रातदिन सानाठूला ढुंगा खस्न थालेपनि सेरीज्युलाका २५ परिवार घर छाडेर ज्यान जोगाउन गोठमा बस्न थालेका छन् ।

डोजरले खनिएको कच्ची सडकमा बर्खापछि निरन्तर पहिरो खस्न थालेको हो । चट्टानसहित जमिन खस्न थालेपछि स्थानीय घर छाडेर गोठको बास खोज्न निस्केका हुन् ।

 गाउँमाथि डोजरमार्फत सडक निर्माण भएको र निरन्तरको बर्खाका कारण कमजोर जमिन भासिएर चट्टान गाँउमा खस्न थालेपछि बस्ती नै जोखिममा परेको वडाध्यक्ष भरत विकले जानकारी दिए । भिरालो जमिनमा बस्तीमाथिबाट डोजरले सडक खनिएकाले पनि जमिन हल्लिएर पानी पर्नासाथ पहिरो खस्न थालेको उनको भनाइ छ ।

‘गाउँमाथिको कडा चट्टान र ठूला ढुंगा खस्न लागेपछि ज्यान जोगाउन दैनिक स्थानीयले घर छाड्दैछन् । बाँकी त्यहाँ बसिरहेका स्थानीय पनि कतिबेला पहिरो खस्छ भन्ने त्रासमा छन् । गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीका अनुसार अहिले त्यो गाउँका २५ घरपरिवार गोठ र आफन्तकोमा बस्न थालेका छन् ।

गाउँमाथिबाट ठूला ढुंगा खस्ने गरेको र बस्तीलाई सुरक्षित बनाउन बाँकी ढुंगा फुटाउनका लागि रक्षा र गृह मन्त्रालयमा आग्रह गरिएको उनले बताए । ढुंगा फुटाउन विस्फोटक पदार्थ आवश्यक भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत रक्षा र गृह मन्त्रालयमा आग्रह गरिएको हो । गाउँपालिकाले स्थानीयलाई तत्काल आफन्तको घरमा भए पनि सुरक्षित बस्न अनुरोध गरेको छ ।  

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले गाँउ नै जोखिममा परेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद शर्मा र नेपाली सेनासहितको टोलीले स्थलगत निरीक्षण गरी विस्फोट गराउन गृहमा पहल गरिएको बताए । गाउँमाथि खस्न थालेको ठूलो ढुंगाले गाँउ, स्वास्थ्य चौकी र विद्यालयलाई पनि जोखिममा पारेको छ । 

प्रतिक्रिया दिनुहोस्