नियम मिच्दा पनि भारतीय गाडीलाई कारबाही हुँदैन



कैलाली :  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी बजारमा अधिकांश भारतीय नम्बर प्लेटका गाडी चलिरहेका हुन्छन् । 

भारतीय सिमाक्षेत्रबाट करीब दुई किलोमिटरको दुरीको रहेको नेपाली बजार धनगढीमा क्यासिनो, व्यापार लगायत विभिन्न कामको लागि भारतीय गाडीहरु नेपाल भित्रिने गर्दछन् । 

दैनिकजसो नेपाल भित्रिने भारतीय नम्बर प्लेटका सवारी साधनहरुले ट्राफिक नियम मिच्ने गरेको पाईन्छ । यसरी भारतीय सवारी मोटरसाईकल, कार, जिप लगायतका साधनहरुले ट्राफिक नियम मिचेको देख्दादेख्दै पनि ट्राफिक प्रहरीले कारबाहीको लागि चासो दिएको देखिदैन् । 

मंगलबार दिउँसो करिब १० बजेतिर संघीय प्रहरी ईकाई कार्यालय अगाडि पार्किङ निषेध लेखिएको स्थानमा जिजे ०६ एफकियु ०७८० नम्बरको भारतीय गाडी करीब दुई घण्टा रोक्दासमेत ट्राफिक प्रहरीले चासो नै नदिएको स्थानीय व्यापारीहरुको गुनासो छ । 

हामीले सम्बन्धित स्थानबाटै जिल्ला ट्राफिक कार्यालय कैलालीलाई खबर गर्दासमेत कुनै प्रतिक्रिया आएन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिलकुमार उप्रेतिले प्रधानमन्त्री धनगढी आउने कार्यक्रम रहेकोले ट्राफिक व्यवस्थापनमै व्यस्त रहेको भन्दै टारे । 

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा गएर हालसम्म ट्राफिक नियम मिच्ने भारतीय नम्बर प्लेटका कति सवारी साधन कारबाहीमा परेका छन् भनेर तथ्यांक माग्दा दिन नमिल्ने भन्दै आनाकानी गर्यो । 

ट्राफिक प्रहरीको क्रियाकलाप हेर्दा सानालाई ऐन ठूलालाई चेन भन्ने उखानलाई चरितार्थ गरेको  देखिन्छ । यसरी नेपाली बजारमा आएर दिनदहाडै ट्राफिक नियम मिच्ने भारतीय सवारी साधनलाई कारबारही नगर्नु ट्राफिक प्रहरीको ठूलो लापरवाही हो । 

प्रतिक्रिया दिनुहोस्