३० वर्ष अघि शिलान्यास भइसकेको सडक प्रधानमन्त्रीद्वारा पुनः शिलान्यास



कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको सहजपुर बाट डोटीको बोग्टान क्षेत्र हुँदै दिपायल पुग्ने सडकको मंगलबार डोटीको बिपीनगरमा शिलान्यास गरेका छन् । 

सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ३० महिनामा सो क्षेत्रमा कालोपत्रे सडकमा गाडी गुड्ने बताए । उनले बोग्टान क्षेत्रको विकासलाई संघीय सरकारले विशेष प्राथमिकतामा राख्ने आश्वासन समेत दिए । 

सडक शिलान्यासका क्रममा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिपीनगर सहितको क्षेत्रमा विद्युतीकरणका लागि समेत पहल गरिने बताए । प्रधानमन्त्री ओलीले यसका लागि रकमको व्यवस्था केन्द्र सरकारले गर्ने जनाउँदै सो क्षेत्रमा केही महिनाभित्रै विद्युतीकरणको काम हुने प्रतिबद्धता जनाए । 

सडक शिलान्यास हुनासाथ खोइ, गाडी कुदेको भन्ने चलन बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले शिलान्यास भएपछि सडक पूर्ण हुन ३० महिना लाग्ने बताए । 

बिपीनगरमा प्रधानमन्त्रीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गरेका थिए । 

उता नेपाली कांग्रेसले भने प्रधानमन्त्रीले मंगलबार शिलान्यास गरेको सडक ३० वर्ष अघि नै शिलान्यास भइसकेको बताएको छ । कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित भरत बहादुर खड्काले आफू जिल्ला पञ्चायत सभापति हुँदा नै सो सडक आफैँले शिलान्यास गरी कैलालीको सहजपुरबाट डोटीको बिपीनगरसम्म मोटर पु¥याएको बताए । 

उनले शिलान्यास भइसकेको सडक फेरि शिलान्यास गरेर प्रधानमन्त्रीले चर्चा कमाउन खोजेको आरोप लगाए । 

प्रधानमन्त्री ओलीले मंगलबार डडेल्धुरामा निर्माण गरिएको विद्युत् सवस्टेशनको समेत उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्