पूर्व–पश्चिम राजमार्गमा किसानको चक्काजाम



सर्लाही: चिनी उद्योगीबाट सधै पीडित बनेका उखु किसानलाई सरकारले समेत ठगेपछि उनीहरु सडक जाम गर्न उत्रिएका छन्। २०७३ मा खेती गरेको उखुको सरकारी अनुदान चालु आवमा समेत नपाएका किसानले मंगलबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा आधा घन्टा चक्काजाम गरे। 

दिउँसो १ बजेदेखि हरिवनको कृष्ण चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसेर किसानले अवरोध गरेका थिए। आधा घन्टा चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारी साधनको लाम लागेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार १ घन्टा चक्काजाम गर्ने भनिए पनि प्रमुख जिल्ला अधिकारी, कोष तथा लेखा नियन्त्रक, चिनी उद्योग व्यवस्थापन लगायतसँग सहमति भएपछि किसानले तत्काललाई थप आन्दोलन समेत स्थगित गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख जगतप्रसाद थपलिया, इन्दुशंकर चिनी उद्योगका प्रमुख उखु प्रबन्धक योगनारायण रजक, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल लगायत उखु किसानसम्बद्ध संघ–संगठनका प्रतिनिधिबीच सात दिनभित्र सरकारी अनुदान भुक्तानी गरिसक्ने सहमति भएपछि किसानले तत्काललाई आन्दोलन फिर्ता लिएका हुन्। 

जिल्लास्थित चिनी उद्योगहरुले आव २०७४/०७५ मा खरिद गरेको उखु उत्पादन गर्ने कृषकको नाम, ठेगाना, पिताको नाम, उखु उत्पादन भएको जग्गाको क्षेत्रफल सहित उखुको परिमाण खुल्ने गरी प्रत्येक स्थानीय तहमा उपलब्ध गराउने, चिनी उद्योगबाट प्राप्त विवरण स्थानीय तहले प्रमाणित गरी फिर्ता पठाएमा पछि रकम फरक नपर्ने गरी सो विवरण सात दिनभित्र चिनी उद्योगले प्रमाणित गरी जिल्ला भुक्तानी समितिमा पठाउने सहमति भएको छ। त्यस्तै, स्थानीय तह र चिनी उद्योगबाट प्रमाणित विवरणको आधारमा जिल्ला भुक्तानी समितिले अनुदान रकम उद्योगलाई उपलब्ध गराउने र सो रकम उद्योगले किसानको बैंक खातामा तत्काल जम्मा गरिदिने सहमति भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। 

त्यस्तै, कृषि मन्त्रालयबाट प्राप्त निर्देशन विभिन्न कारणले पालना गर्न कठिन देखिएकोले यही बैठकमा भएको छलफलकै आधारमा उखु कृषकहरुको समस्यालाई ध्यानमा राखी अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने र वास्तविक किसानको विवरण फरक नपर्ने र अनुदान रकम प्राप्त गर्ने कुराको प्रत्याभूति सहितको जिम्मेवारी सम्बन्धित चिनी मिलहरुको रहने गरी अनुदान भुक्तानीलाई सुनिश्चित गर्ने निर्णय समेत भएको खवर नागरिकमा छ । 

सोमबार हरिवन बजारमा सर्लाही सहित महोत्तरी र रौतहटसमेत तीन जिल्लाका उखु किसानले लाँक्रे जुलुस गरेका थिए। मंगलबार दिउँसो १ बजेबाट चक्काजाम कै कार्यक्रम रहेकाले प्रजिअसहित सम्बन्धित सरकारी अधिकारीहरु बिहान साढे ११ बजे नै हरिवनआई समस्या समाधानका लागि उखु किसान नेताहरुसँग छलफल गरेका हुन्। छेउकै सगुन सहकारीको सभाहलमा छलफल चलिरहँदा उखु किसानले भने दिउँसो १ बजेदेखि राजमार्गमा चक्काजाम सुरु गरेका थिए। एक घन्टे जामको कार्यक्रमबीच डेढबजे सहमति भएपछि तत्काललाई आन्दोलन स्थगित गरिएको उखु किसानका नेता राजकुमार उप्रेतीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्