सप्तरीमा एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि



राजविराज : सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार ९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए । शनिबार बिहानसम्म जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । तर जिल्लामा संक्रमितलाई राख्न आइसोलेसन कक्षको भने अभाव देखिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जनालाई राखिएको छ । बाँकी संक्रमितलाई समबन्धित पालिकाकै क्वारेन्टाइनमै राखिँदा अन्यमा पनि कोरोना संक्रमण फैलिने हो कि भन्ने चुनौती थपिएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख यादवले शनिबार साँझसम्म नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने गरी तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्