लाइसेन्स बनाउने नाममा ठगी, गिरोहका एकजना पक्राउ



जनकपुरधाम :  जनकपुर यातायात व्यवस्था कार्यालयबाट चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने भन्दै सेवाग्राहीहरुबाट मोटो रकम असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ । त्यस गिरोहका एक जनालाई पीडित सेवाग्राहीकै सक्रियतामा पक्राउ गरिएपछि यसको रहस्योद्घाटन भएको हो । 

धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार महोत्तरी जिल्ला नरसिसवा गाउँपालिका वडा नं. १ बस्ने प्रिन्सकुमार सिंहलाई ठगीको आरोपमा पक्राउ गरिएको हो । प्र्रिन्सबाट ठगिएका व्यक्तिहरुकै सहयोगमा प्रिन्सलाई दुई दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।  

प्रिन्सको पक्राउसँगै प्रहरीले यातायात व्यवस्था कार्यालयबाट हुने अन्य गैरकानुनी गतिविधि र त्यसमा संलग्न गिरोहका अन्य व्यक्तिहरुको पनि खोजतलास गरिरहेको बताएको छ । धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले प्रिन्सलाई पक्राउ गरिएको तर यस बिषयमा अनुसन्धान भइरहेकाले तत्काल केही भन्न नमिल्ने   बताए ।

पक्राउ परेका प्रिन्सले चालक अनुमनि पत्र बनाईदिने भन्दै स्थानीय युवाबाट लाइसेन्स बनाइदिने भन्दै रकम लिएको र त्यसवापत यातायात कार्यालयको नक्कली नगदी रसिद (भर्पाई) दिएको पीडित एक युवाले बताए ।  

ती युवाका अनुसार यातायात कार्यालयअघि बोर्ड झुण्ड्याएर लेखापढी गर्दै आएका प्रिन्सले दिएका नगदी रसिदमा यातायात व्यवस्था कार्यालय जनकपुर लेखिएको भए पनि कार्यालयको छाप र हस्ताक्षर भने छैन ।

प्रिन्सले जिल्लाको मिथिला नगरपालिका वडा न ४ पुष्पवलपुरका  १० जनालाई ठगी गरेको र ती व्यक्तिबाट चार लाखभन्दा बढी रकम लिएर वेपता भएको आरोप छ ।  वेपता भएपछि पीडित युवाले खोजी गर्दै जाँदा जनकपुरको क्याम्पस चोकबाट उनलाई प्रहरीको सहयोगमा पक्रेका थिए ।

पीडित व्यक्तिले सम्पर्क गर्न फोन गर्दा प्रिन्सले कहिले फोन नउठाउने त कहिले मोबाइलको स्वीच अफ गरेर राख्ने गरेपछि विशेष सुराकीका आधारमा पक्राउ गर्न सफल भएको पीडित बसन्त मोक्तानले बताए ।

प्रिन्सले चालक अनुमतिपत्र बनाइदिने भन्दै पुष्पवलपुरकै श्रवणकुमार सिंहसँग पनि ४० हजार रुपैयाँ लिएका थिए । महिनौसम्म चालक अनुमतिपत्र नबनाइदिएपछि रकम फिर्ता माग गर्दा उनले श्रवणलाई चेक दिएका थिए । तर चेक बाउन्स भएको थियो ।

पक्राउ परेपछि प्रिन्सउपर आवश्यक अनुसन्धान तथा कारवाही गरी रकम फिर्ता पाउन पीडित युवाले मंगलबार जिप्रका धनुषामा लिखित जाहेरी समेत दिएका छन् ।

यता यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख पवन पजियारसँग सम्पर्क गर्न खोज्दा उनी कार्यालयमा भेटिएनन् र मोबाइल सम्पर्क पनि हुन सकेन ।

कार्यालयको नक्कली रसिद बरामद भएपछि नक्कली लाइसेन्स बनाउने र सेवाग्राहीलाई ठगी गर्ने गिरोह नै संलग्न रहेको आशंका गरिएको छ । त्यसमा यातायातका कर्मचारीको संलग्नता पनि हुनसक्ने स्थानीय वासिन्दाको आशंका छ ।  

प्रतिक्रिया दिनुहोस्