उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु



विराटनगर : उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउने–गाईघाट सडक खण्डमा बुधबार दिउँसो साढे २ बजे भएको ट्रयाक्टर दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

तेजपत्ता बोकेर सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना५त ६७६२ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनरगरका अनुसार दुर्घटनामा ट्रयाक्टरका चालक त्रियुगा–१५ खाँबुका २७ वर्षीय दुर्गाबहादुर मगर र ट्रयाक्टरमै यात्रा गरिरहेका रौतामाई गाउँपालिका–५ का ४३ वर्षीय दिलबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परेर सामान्य घाइते भएका छ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

क्षमता भन्दा बढी सामान बोकेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्