लगानी भित्र्याउन अर्थमन्त्री डा. खतिवडा वेलायतमा 



लण्डन : अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त अधिराज्य वेलायत आइपुगेका छन्। डा. खतिवडा बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल विकास सम्मेलनमा भाग लिन बुधबार यहाँ आइपुगेका हुन्।

लण्डनस्थित हित्रो विमानस्थलमा उत्रेका डा. खतिवडाले नेपालमा हुन गइरहेको लगानी सम्मेलनको विषयमा छलफल गर्न वेलायत आएको बताए। उनले धेरै अपेक्षा लिएर वेलायत आएको बताए। उनले आफ्नो भ्रमणको मुख्य उद्देश्य वेलायतस्थित नेपाली समुदायको लगानी स्वदेश लैजाने लगायत वेलायत नेपाली बीचको दुई पक्षीय सम्बन्धको वारेमा समेत वेलायतसंग छलफल गर्नु रहेको बताए।

वेलायतस्थित नेपाली दूतवासका प्रवक्ता शरदराज आरण हित्रो विमानस्थलमा डा. खतिवडाको स्वागतका लागि पुगेका थिए। यस्तै  गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य  पनि मन्त्री खतिवडाको स्वागतका लागि विमानस्थल पुगेका थिए।

शुक्रबार लण्डनस्थित नेपाली दूतवासमा आयोजित विकास सम्मेलनलाई खतिवडाले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने नेपाली दूतावास लण्डनले जनाएको छ। नेपाली दूतवासका प्रवक्ता आरणका अनुसार चार सेसनमा हुने सो कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल वेलायत चेम्बर अफ कमर्स, वेलायतस्थित नेपाली तथा विदेशी लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणले नेपाल र संयुक्त अधिराज्य बीचको पारस्परिक हित अभिवृद्धिमा सघाउ पुर्याउनुका अतिरिक्त नेपालमा आयोजित लगानी सम्मेलनमा संयुक्त अधिराज्यका सम्भाव्य लगानीकर्ताहरुलाई सहभागी गराउन समन्वय गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ। अर्थ मन्त्रीको साथमा अर्थ मन्त्रालय र लगानी वोर्डको कार्यालयवाट एक एक जना प्रतिनिधि सहभागी भएका खबर नागरिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्