प्रदेश २ मा ‘छोरी शिक्षा बीमा तथा मुद्दती बचत खाता’ अभियान सुरु, राष्ट्रपतिद्वारा उद्घाटन



वीरगन्ज : मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश २ ले ‘छोरी शिक्षा बीमा तथा मुद्दती बचत खाता’ अभियानको औपचारिक रूपमा घोषणा गरेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तरर्गत यो कार्यक्रम सुरु गरिएको हो । 

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जमा एक समारोहबीच अभियानको उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ सरकारले ल्याएको अभियानको प्रशंसा गरिन् । अभियानले सामाजिक जागरणका लागि क्रियाशील सम्बद्ध पक्षलाई थप सकिृय पार्न प्रेरणा प्रदान गर्ने अपेक्षा लिएको उनले बताइन् । 

महिलाको आर्थिक, सामाजिक र राजनीतिक स्तर सुदृढ पार्न सबै तहमा नीतिगत संरचनाको विकास गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्न तदारुकताका साथ लाग्न उनले आग्रह गरिन् । 

‘दाइजो प्रथाको नाममा महिला हिंसा हुने अवस्था उत्पन्न हुनु आजको आधुनिक युग सुहाउँदो विषय होइन,’ उनले भनिन्, ‘छोरीको लागि गरिने लगानीलाई अनावश्यक आर्थिक भारको रूपमा लिने र छोरी पढाएर खर्च गर्नु भन्दा सानै उमेरमा गर्ने परिपाटीको अन्त्य हुन आवश्यक छ ।’ 

बालिका शिक्षाको लागि सङ्घ, प्रदेश र स्थानीय तहमा नै बजेट वृद्धि गरी साक्षरता उन्मुलन गर्नुपर्ने उनले बताइन् । छोरी जन्मनु अभिशापको रूपमा लिने परम्परालाई तोड्न प्रदेश सरकारले सुरु गरेको छोरी जन्मनु साथ शैक्षिक बीमा कार्यक्रम कोसेढुङ्गा सावित हुने उनको विश्वास छ । 

समारोहमा बोल्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले बालिकाको उज्ज्वल भविष्यका लागि 'बेटी बचाउ, बेटी पढाउ' अभियान सुरु गरिएको बताए । समाजमा विभेदमा परेका र समान व्यवहार नपाएका महिला समुदायलाई अगाडी बढाउन बालिका शिक्षालाई प्राथमिकतामा राखेको उनले बताए । 

सोच परिर्वतनविना समाज संवृद्ध र विकसित हुन नसक्ने भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले सुरु गरेको छोरी शिक्षा बीमा कार्यक्रमले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

हाल ८ जिल्लाको ८ स्थानीय तहबाट यो कार्यक्रम सुरु गरिएको छ । छोरी शिक्षा बीमाको लागि प्रदेश सरकारले १ लाख र प्रभु बैङ्कले २५ हजार सहयोग गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्