कांग्रेसलाई कसैले कब्जा गर्न सक्दैन : निधि



जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारले अपराधी लुकाउन खोजेको कारण देशमा महिला हिंसाको घटना बढदै गएको आरोप लगाएका छन् ।

एक कार्यक्रममा सहभागी हुन शुक्रबार जनकपुरधाममा आएका बेला विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति निधिले सरकारले अपराधी समात्न र दण्डित गर्नुको सट्टा लुकाउन खोजेपछि महिला हिंसामा बृद्धि भएको बताए ।

प्रदेश २ मा त पछिल्लो डेढ वर्षमा तीन सयभन्दा बढी महिला हिंसाका घटना भएको उल्लेख गर्दै उनले महिला हिंसा बढनुमा सरकार नै प्रमुख दोषी रहेको आरोप लगाए ।

उपसभापति निधिले वर्तमान सरकारलाई महिला हिंसा र हत्या सहितका आपराधिक घटना नियन्त्रण गर्न कांग्रेसले पटक पटक दिदै आएको उल्लेख गर्दै नियन्त्रणप्रयास नथालिए आगामी दिनमा चरणबद्ध आन्दोलन र संघर्षमा जाने बताए ।

कांग्रेसमा कोइराला परिवार हावी  भएको भन्ने एक प्रसंगमा उनले भने–‘नेपाली कांग्रेसलाई कसैले कब्जा गर्न सक्दैन, नेता र कार्यकर्ताहरुको पार्टी हो र कार्यकर्ताकै बर्चस्व रहिरहन्छ ।’

केही दिनअघि कोइराला परिवारका शेखर कोइराला, सुजाता कोइराला र सशांक कोइराला एउटै मञ्चमा सहभागी भएर एकताको सन्देश दिएका थिए । आगामी कांग्रेस महाधिवेशनमा कोइराला परिवार एक हुने सन्देश दिएपछि कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यसप्रति आक्रोश व्यक्त गरेका थिए ।

दुई दिनअघि मात्र वीरगंजस्थित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले कांग्रेसलाई कोइराला परिवार कब्जा गर्न खोजेको आरोप लगाउँदै कोइरालाको बपौती नभएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्