प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि



जनकपुरधामः प्रदेश न.२ मा पछिल्लो २४ घण्टामा ४१ पुरुष र ३ जना महिलागरी कुल ४४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जस अनुसार सप्तरी जिल्लामा १ जना, धनुषा जिल्लामा १ जना, महोत्तरी जिल्लामा ९ जना, सर्लाही जिल्लामा १५ जना, रौतहट जिल्लामा ११ जना र पर्सा जिल्लामा ७ जना व्यक्तिहरुमा संक्रमण पुष्टी भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितिहरुको संख्या ८ सय ५९ पुगेको छ भने उपचार पछि १०५ जना निको भई घर फर्किसकेका छन् ।

संक्रमितहरु तल उल्लेखित स्थानका
सप्तरी जिल्लामा ४० बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा गरिएको स्वाव परिक्षण अनुसार ३८ बर्षका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिकामा नै बसोबास गर्दै आएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।
महोत्तरी जिल्लाको मठिहानी नगरपालिका वडा नम्वर ५ स्थित श्री लक्ष्मी नारायण याज्ञवलक्य सँस्कृत क्याम्पसको क्वारेन्टाईनमा रहेकी ४० बर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । निज महिला छिमेकी मुलुक भारतको मुम्बईबाट आएर क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ । त्यसैगरी सोही क्वारेन्टाईनमा रहेका १५ बर्षिय किशोर सहित १८ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु पनि छिमेकी मुलुक भारतबाट नै आएको उनले बताए ।

सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिकास्थित रामबिलास प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १७ बर्षिय किशोरलाई कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाकै धनकौल गाउँपालिकास्थित प्राथमिक विद्यालय बैरियाको क्वारेन्टाईनमा रहेका १६ बर्षिय किशोर सहित १८ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनकौल गाउँपालिकाकै धोबिनिया निम्न माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेकी ११ बर्षिया बालिकामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सर्लाही जिल्लाकै धनकौल गाउँपालिकामा नै रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका १८ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित भएका १ महिला र १४ पुरुषहरु छिमेकी मुलुक भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएको सचिव घिमिरेले जानकारी दिए ।

त्यस्तै रौतहट जिल्लाको इशनाथ नगरपालिकामा रहेको स्थानीय क्वारेन्टाईनमा रहेका २२ बर्षिय पुरुष र सोही जिल्लाको परोहा नगरपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका २२ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । रौतहट जिल्लाकै कठहरिया नगरपालिका वडा नम्वर ५ स्थित श्री जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ५० बर्षिय पुरुष सहित १८ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका इशनाथ, परोहा र कठहरिया नगरपालिकामा संक्रमण पुष्टि भएका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट आएको बुझिएको छ ।

पर्सा जिल्लाको बिन्ध्यबासिनी गाउँपालिका वडा नम्वर ३ स्थित रामप्रित माध्यमिक विद्यालय झौंवाको क्वारेन्टाईनमा रहेका ३४ बर्षिय पुरुषमा कोराना संक्रमणको पुष्टि भएको छ । पर्सा जिल्लाकै कालिकामाई गाउँपालिका वडा नम्वर ३ हरिहरपुर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १७ र ४९ बर्षिय पुरुष सहित ४० देखि ७० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी पर्सा जिल्लाकै सखुवा पर्साैनी गाउँपालिका वडा नम्वर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका २५ र ४९ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्सा जिल्लामा आज संक्रमित प्रमाणित भएका सम्पूर्ण संक्रमितहरु छिमेकी मुलुक भारतबाट नै आएको बुझिएको छ ।

संक्रमितको उपचार निम्न स्थानहरुमा हुँदै
त्यसैगरी पिसिआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा १ जना पुरुष,सप्तरी जिल्ला राजविराजस्थित साईकृष्ण अस्पतालको आइसोलेसन कक्षमा २ महिला र ५३ जना पुरुषगरी कुल ५५ जना,सिरहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना,सिरहा जिल्लाकै सिरहा नगरपालिकास्थित सिरहा कोभिड १९ विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना,धनुषा जिल्लास्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा रहेको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुषगरी कुल २६ जना,धनुषा जिल्लाकै लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षमा ५ जना महिला र ६० जना पुरुषगरी कुल ६५ जना,महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलेसन कक्षमा २ जना महिला र ३५ जना पुरुषगरी कुल ३७ जना,सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा ४३ जना पुरुष र २ जना महिलागरी कुल ४५ जना।सर्लाहीकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ८ जना पुरुषगरी कुल ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

त्यस्तै,रौतहट जिल्लास्थित चपुर अस्पतालमा ८ जना पुरुष, रौतहट जिल्लामा नै रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ४ महिला र २५ पुरुषगरी कुल २९ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा ३ जना महिला र ६१ जना पुरुषगरी कुल ६४ जना,रौतहट जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७२ पुरुष र ३ महिलागरी कुल ७५ जना,बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४८ जना पुरुष र २ जना महिलागरी कुल ५० जना,पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३० जना पुरुष र २ जना महिलागरी कुल ३२ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

१५ जना आशंकित बिरामी आइसोलेसनमा
सिरहा अस्पताल सिरहामा ४ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालमा २ जना, महोत्तरी जिल्लाको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना र पर्सा जिल्लाको पोखरिया अस्पतालमा १ जना गरी कुल १५ जना कोरोना आशंकित बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको सचिव घिमिरेले बताए ।

जनकपुरको पिसिआर मेसिन सुरु
जेठ १९ गतेबाट जनकपुरस्थित प्रादेशिक प्रयोगशालाको रियल टाईम पिसिआर मेसिनले स्वावको परिक्षण गर्ने कार्य सुरु गरिसकेको बताइएको छ । जेठ १९ र २० गते दुई दिनमा उक्त मेसिनमार्फत २ सय ४२ वटा स्वावहरु परिक्षण भइसकेको सचिव घिमिरेले बताए । जनकपुर प्रयोगशालामा परिक्षण गरिएका मध्ये ९ वटा स्वावहरुको परिणाम पोजेटिभ आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्