दैनिक २० मिनेट हरियाली पार्कमा बसे खुसी हुन सकिन्छ, स्वास्थ्यमा सुधार आउछ



एजेन्सी : बाहिरी वातावरण, त्यसमा पनि केही हरियालीयुक्त स्थानमा समय बिताउनाले एकदमै कम समयमा मानिसको खुसी र स्वास्थ्यमा सुधार ल्याउन सक्छ । यसले तनाव कम गर्नुका साथै रक्तचाप र मुटुको गतिलाई सन्तुलनमा राख्न मद्दत गर्दछ भने शारीरिक गतिविधिलाई पनि प्रोत्साहन गर्दछ ।

यसरी हरित ठाउँहरु वास्तवमै मानसिक समस्याहरुसँग सम्बन्धित रहेको यसअघिका अनुसन्धानहरुमा पनि प्रमाणित भइसकेको छ । त्यसैले चिकित्सकहरुले सबै बिरामीलाई यो खोजलाई गम्भीर रुपमा लिन र थोरै समय भएपनि प्राकृतिक वातावारणमा बिताउन सल्लाह दिने गर्दछन् ।

यसैबीच ‘इन्टरनेशनल जर्नल अफ इन्भारोमेन्टल हेल्थ रिसर्च’ मा प्रकाशित एउटा नयाँ अध्ययनले तिनै खोजहरुको समर्थनमा थप प्रमाण पेश गरेको छ र बाहिरी वातावरणमा थोरै समय बिताउनुले पनि कति ठूलो फाइदा गराउन सक्छ भन्ने तथ्यलाई पुनः दोहोर्याएको छ ।

रिसर्चका अनुसार कुनै किसिमको शारीरिक अभ्यास नगरिकनै पार्कमा केबल २० मिनेट बिताउनुले पनि हाम्रो स्वास्थ्य अवस्थामा ठूलो सुधार ल्याउँछ । यसका लागि अनुसन्धानकर्ताहरुले ९४ वयस्कहरुमा पार्क जान सुरु गर्नु अघि र पछिको सर्वेक्षण गरेका थिए । जसमा शारीरिक गतिविधि मापन गर्न उनीहरुलाई फिटनेस ट्रयाकर दिइएको थियो तर कति समय पार्कमा बस्ने वा के गर्ने भन्ने निर्देशन चाहिँ दिइएको थिएन ।

यसपछि प्रत्येकलाई उनीहरुको जीवन, सन्तुष्टि र मुडका बारेमा प्रश्न गरिएको हो र सबैको स्वास्थ्य अवस्था मापन गरि भिन्दाभिन्दै स्कोर दिइएको थियो ।

यसमा सबै सहभागीले औसतमा ३२ मिनेट पार्कमा बिताएको पाइएको हो भने ३० प्रतिशतले चाहिँ हल्का शारीरिक अभ्यास पनि गरेका थिए । यसरी पार्क जान थालेपछि सहभागीहरु मध्ये ६२ प्रतिशतको स्वास्थ्य अवस्थामा धेरै सुधार आएको पाइएको हो ।

त्यसैले आफ्नो स्वास्थ्य अवस्थामा सुधार ल्याउन शारीरिक अभ्यास नै जरुरी नभएको अध्ययनका उपप्रमुख होन युएनले बताए ।

प्रतिक्रिया दिनुहोस्