राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत



जनकपुर : जनकपुरमा जारी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने संकेत गरेको छ । शुक्रवारबाट जारी बैठकले नेपाली राजनीतिलाई तरंगित पार्ने निर्णय गर्ने अध्यक्ष मण्डलका एक सदस्यले बताएका छन् । 

शुक्रवारको बैठकमा राजपा अध्यक्ष मण्डलले प्रदेश दुईका आफ्ना मन्त्रीहरुसँग संघीय सरकारले प्रदेश सरकारलाई सहयोग गरे नगरेको बारे जानकारी लिएको थियो । जवाफमा मन्त्रीहरूले पूर्ण रूपले सहयोग नपाएको बताएका थिए । 

मन्त्रीहरूको कामकार्वाही बारे जानकारी लिन बैठक बोलाइएको बताइएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने बारे धेरै छलफल गरिएको बैठकमा सहभागी एक नेताले द नेपालटपलाई जानकारी दिए । शुक्रवारको बैठकमा मन्त्रीका साथै समन्वय समितिका सदस्य र प्रदेश सांसदहरुको पनि सहभागिता थियो ।

संविधान संशोधन गर्ने वाचा गरेपछी सरकारको समर्थन गरेर प्रदेश दुई सरकारमा सहभागी बनेको राजपाले नागरिकताको विषयमा ओली सरकार स्पष्ट नभएको आकलन गरेको छ । शुक्रवारको बैठकले आफ्ना मागहरूलाई सरकारले गभिंर रूपमा नलिएको निष्कर्षमा राजपा पुगेको छ । 

अध्यक्ष मण्डलका एक सदस्य महन्थ ठाकुरले बैठकस्थलमै सञ्चारकर्मीहरुसगँको कुराकानीमा ओली सरकारले हैकमवादी प्रवृत्ति देखाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका थिए ।

‘यो सरकारले दुई तिहाइ दम्भ देखाउँदै कानुन निर्माणदेखि विकास निर्माणमा पनि एकलौटी निर्णय गरिरहेको छ,’ नेता ठाकुरले भने, ‘यो हामीलाई सह्य छैन ।’

सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा आजको बैठकमा घनिभूत छलफल चलिरहेको छ । हिजो शुक्रवार प्रदेश दुईका आफ्ना मन्त्रीहरुसँग यसै विषयमा छलफल गरेको राजपाले आज शनिवार जारी बैठकमा आफ्ना प्रदेशस्तरका नेता कार्यकर्तासँग छलफल गरिरहेको अध्यक्ष मण्डलका अर्का सदस्यले बताए । 

आजको बैठकमा प्रमुख सत्तारुढ दलले सघिंय समाजवादी फोरमसँग मिलेर प्रदेश दुईमा सरकार बनाउने गोप्य तयारी गरेको बारे पनि चर्चा चलेको छ ।

केही दिन अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फोरमको सहकार्यमा नेकपाले प्रदेश दुईको सरकार बनाउन सक्ने अभिव्यक्ति दिएका थिए । 

नेता नेपालको अभिव्यक्ति नेकपाको योजना अनुसार नै सार्वजनिक भएको राजपाको ठम्याई छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पार्टीमा छलफल चलिरहेको भन्दै शुक्रवार सञ्चारकर्मीहरुसगँ नेता ठाकुरले भनेका थिए, ‘यस विषयमा हामी केही दिनमै निष्कर्षमा पुग्ने छौँ ।’

बैठक आइतबार सम्म चल्ने छ । 

प्रतिक्रिया दिनुहोस्