पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा, उपाधिका लागि दाउफिन्ससँग भिड्ने 



काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा शनिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा भ्याली च्यासल युवा क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले फाइनलको यात्रा तय गरेको हो। पुलिसलाई फाइनलमा पुर्याउन डिफेन्डर बिक्रम धिमालले २ तथा रवि पासवानले १ गोल गरे। पराजित टोलीका लागि सन्तबहादुर गुरुङले सान्तवना गोल फर्काए।

पुलिसले अब उपाधिका लागि सोमबार क्यामरुनको दाउफिन्ससँग खेल्नेछ। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक लाली रुपन्देहीलाई २–० ले पराजित गर्दै दाउफिन्स फाइनल पुगेको थियो।

खेलको १५ औं मिनेटमा तेज तामाङले प्रहार गरेको कर्नर बलमा बिक्रमले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अघि रहेको पुलिसका बिक्रमले ५७ औं ब्याक्तिगत दोस्रो गोल गर्दा पुलिसले अग्रता दोब्बर बनायो।

६० औं मिनेटमा च्यासलका कप्तान अमिर श्रेष्ठ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि पुलिसले थप २ गोल गर्दा १ गोल खायो। ८० मिनेटमा पुलिसका रवि पासवानले टोलीका लागि तेस्रो गोल गरे। ९० मिनेटसम्म ३–० ले पछि परेको च्यासलका सन्त बहादुरले इन्ज्युरी समयमा सान्तवना गोल फर्काए।

यस सिजन खप्तड गोल्डकप जितेको पुलिस त्यसपछि मोफसलका प्रतियोगितामा पहिलो पटक फाइनल पुगेको हो। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा जिल्ला फुटबल संघ रूपन्देहीको आयोजनामा जारी प्रतियोगितको विजेताले ८ लाख ८० हजार तथा उपविजेताले ५ लाख ५० हजारका साथै कप मेडल प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्