स्वास्थ्य मन्त्रालयले ‘अटोमेटेड मेसिन’ जडान गर्ने



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अटोमेटेड मेसिन’ जडान गर्ने जनाएको छ। कोरोना परीक्षणको दायरा तीव्र बनाउन र छिटो नतिजाका लागि मन्त्रालयले ‘अटोमेटेड मेसिन’ जडान गर्ने र पीसीआर मेसिन थप्ने प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

अहिले काम गरिरहेकै पीसीआर मेसिनहरूमा अटोमेटेड मेसिन जडान गरिनेछन्। अटोमेटेड मेसिनले एक पटकमा कम्तिमा एक हजार नमूना थप परीक्षण गर्न सक्ने प्रवक्ता देवकोटाले बताए। उनले सातवटै प्रदेशमा नमूना परीक्षण गर्ने अटोमेटेड मेसिन राख्न आवश्यक तयारी थालिएको बताए।

उनले २१ स्थानबाट हाल पीसीआर विधिबाट परीक्षणको काम भइरहेपनि केही ठाउँमा क्षमता अनुसार परीक्षण हुन नसकेको बताए। भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेसँगै नेपालमा संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्