मधुमेहको रोगी संख्या बढदो, खानपानमा सावधानी 



काठमाडौं : नेपालसहित विश्वमा मधुमेह (डाईबिटिज) रोगीको संख्या निरन्तर बढिरहेको पाइएको छ । खानपानमा सावधानी नअपनाउने र शारीरिक व्यायाम नगर्नेहरुमा यो रोगको समस्या बढी देखिएको छ ।

नेपाल डाइबिटिज संघका कोषाध्यक्ष डा. जया प्रधानका अनुसार, विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको सर्वेक्षणअनुसार विश्वभर ३२ करोड ४० लाख मानिस यस रोगबाट पीडित छन् । नेपालमा मात्र कुल जनसंख्याको ९.१ प्रतिशत मानिस मधुमेहबाट प्रभावित छन् । नेपालमा मधुमेह रोगीको संख्या क्रमशः बढ्दो अवस्थामा छ ।

मधुमेह न्यूनीकरण र जागरणका लागि शनिबार इन्डो नेपाल–युएस डाईबिटिज बैठकको आयोजना गरिएको छ । बैठकमा अमेरिका, भारत, श्रीलंंका, अस्ट्रेलियाका चिकित्सकहरूको सहभागिता छ ।

कार्यक्रममा डा. ईश्वरलाल आचार्यलाई डाइबिटिज लाईफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । डा. आचार्यले विश्वभर नै बढिरहेको डाइबिटिज रोगबाट धेरै नेपाली प्रभावित छन् र प्रभावित हुने क्रम जारी रहेको बताउँदै विभिन्न खाद्य बस्तुको अनुसन्धान गर्दा खाना खाँदा आदिवासीले सदियौंदेखि प्रयोग गर्दै आएका खाना राम्रो रहेको पाइएको बताए ।

उनले खाना प्रशोधनका परम्परागत विधि प्रयोगका साथै मैदाजन्य खाना न्यूनीकरण गर्न, शारीरिक व्यायामलाई नियमित गर्न आदि सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्