टी–२० महिला विश्वकपमा नेपाल हङकङसँग भिडदै



काठमाडौं : आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आइतबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको बैंककमा आइतबार नेपालले आफ्नो चौथो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो ।

त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । हङकङलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमा नेपाल रहेको छ । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

अहिले नेपाल अंक तालिकाको चौथो स्थानमा छ । नेपालले तीन खेलमध्ये एक खेलमा हार र दुई खेलमा जित हात पार्दै चार अंक बनाएको छ । यता, शीर्ष स्थानमा रहेको थाइल्यान्डको भने छ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको यूएईको पनि छ अंक रहंदा तेस्रो स्थानमा रहेको चीनको पनि छ अंक छ ।

अब नेपालले २५ तारिखमा चीनसँग खेल्ने छ भने अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्