महिला विश्वकप छनोट: हङकङमाथि नेपालको जित



काठमाडौं:  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ। नेपालले आज बैंककमा भएको खेलमा हङकङलाई ४ विकेटले हराएको हो। हङकङले दिएको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १८.३ ‌ओभरमा पार गर्यो। नेपालका लागि अप्सरी बेगमले २४ रन जोडिन्।

उनले ३५ बलमा ३ चौका हिर्काइन्। सरिता मगरले पनि नटआउट १६ रन जोडेपछि नेपालले लक्ष्य भेट्टाएको हो। त्यसअघि ओपनरद्वय कजो श्रेष्ठ ४ र सीता रानामगर खाता नै नखोली आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो। लगत्तै इन्दु बर्मा पनि ४ रनमा आउट भइन् भने कप्तान रुबिना क्षेत्री बेलवासेले ६ रन भन्दा बढी जोड्न सकिन्।

रोमा थापा २ रनमा आउट भइन् भने नेरी थापा १ रनमा अविजित रहिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ८विकेटको क्षतिमा ६२ रन जोडेको थियो। यसअघि नेपालले खेलेका तीन मध्ये दुई खेलमा जित हात पारेको थियो। जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। नेपालको ४ खेलबाट ६ अंक भएको छ। शीर्ष स्थानको आयोजक थाइल्यान्डको ४ खेबलाट ८ अंक र दोस्रो स्थानको युएईको ५ खेलबाट ८ अंक छ। नेपालले भोलि चीन र फागुन १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्