आहा रारा गोल्डकप : आर्मीको जितमा नवयुग नायक 



काठमाडौं : त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पालाई ३–१ ले पराजित गर्दै आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो।

आर्मीको जितमा स्ट्राइकर नवयुग श्रेष्ठले २ तथा जर्ज प्रिन्स कार्कीले १ गोल गरे। पराजित शेर्पाका त्रिदेभ गुरुङले एक गोल फर्काए। आर्मीले एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै जित हात पारेको हो। खेलको २७ औं मिनेटमा गोहा प्याट्रिकको पासमा त्रिदेशले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको आर्मीले दोस्राे हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्यो।

७१ औं मिनेटमा आर्मीका नवयुगले सन्तोष तामाङको फ्रिकिकमा हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको सात मिनेटपछि नै पुनः नवयुगले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। त्यसपछि खेलको इन्ज्युरी समयमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई ३–१ को सहज जित दिलाए। खेलको म्यान अफ दि म्याच २ गोल गरेका आर्मीका नवयुग श्रेष्ठ घोषित भए।

आर्मीले जारी सिजन मोफसलका दुई उपाधि जितिसकेको छ। प्रतियोगितामा सोमबार रुस्लान थ्री स्टार क्लब र युनाइटेड सिक्किम भारतबीच खेल हुने आयोजक सहारा क्लबले जनाएको छ। 

प्रतियोगितामा आयोजक सहारा क्लबसहित मनाङ मर्स्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, पुलिस, एपिएफ, हिमालयन शेर्पा, धरान फुटबल क्लब, युनाइटेड सिक्किम र दाउफिन्स फेमिलि गरि १० टोलीको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखका साथ मेडल र ट्रफी प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै विधागततर्फका उत्कृष्ठ खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र पाउनेछन्। सर्वाधिक गोलकर्ताले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्