महिला साफ फुटबलको खेलतालिका हेरफेर, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने



काठमाडौं : विराटनगरमा हुने तय भएको दक्षिण एसियाली महिला फुटबल (साफ) को खेल तालिका हेरफेर गरिएको छ। अन्तिम समयमा आएर पाकिस्तानले सहभागिता जनाउन नसक्ने जानकारी गराएपछि तालिका परिवर्तन भएको हो। नयाँ तालिका अनुसार नेपालले उद्घाटन खेलमा फागुन २८ गते भुटानसंग प्रतिस्पर्धा गर्ने भएको छ।

खेलसहिद रंगशालामा विराटनगरमा हुने छ। तालिका अनुसार फागुन ३० मा भारत र माल्दिभ्स, चैत १ मा भुटान र बंगलादेश, चैत २ मा माल्दिभ्स र श्रीलंका, चैत ३ मा बंगलादेश र नेपाल तथा चैत ४ मा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुनेछ। नेपाल रहेको समुह ‘ए’ मा बंगलादेश र भुटान छन्। समुह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स समावेश छन्। पहिलो पटक घरेलु मैदानमा साफ जित्ने लक्ष्यका साथ नेपाली टोलीले अहिले अभ्यास गरिरहेको छ।

अन्तिम समयमा आएर पाकिस्तानपछि हटेपछि नेपालमा पहिलो पटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसीपमा ६ वटा देशले मात्रै सहभागिता जनाउने भएका हुन्। ‘पाकिस्तान बिनानै प्रतियोगिता आयोजना गर्नुपर्ने स्थिति आयो। हामीले धेरै प्रयास गरेपनि उसलाई सहभागी गराउन सकेनौं,’ एन्फा प्रवक्ता राईले भने, ‘सहभागिता जनाउन नसक्ने आधिकारिक कारण पनि उसले हामीलाई बताएको छैन्। तर सात देशको सहभागिता हुनु पर्नेमा एउटा देश छुट्दा हामीलाई दुःख लागेको छ।’ 

पाकिस्तानी फुटबल संघको पछिल्लो समय त्यहाँको सरकारसँग सम्बन्ध बिग्रिएका कारण उसले सहभागिता जनाउन नसकेको हुन सक्ने अनुमान एन्फाले गरेको छ। तर, पाकिस्तानले यसको आधिकारिक पुष्टि भने गरिसकेको छैन्। सन् २०१६ को साफ च्याम्पियनसीप पनि पाकिस्तान बिना नै आयोजना गरिएको थियो। सन् २०१० बाट सुरु भएको प्रतियोगितामा पाकिस्तानले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन्। चौथो संस्करण सकिँदा तीन वटा प्रतियोगितामा मात्रै भाग लिएको पाकिस्तान एउटामा मात्रै सेमिफाइनल पुगेको थियो। यस अघिका चारवटै साफ महिला च्याम्पियनसीपको उपाधि भारतले कब्जा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्