मोरङ : दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते 



विराटनगर : मोरङको कटहरी गाउँपालिकामा बुधबार दिउँसो भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । उता पथरीशनिश्चरे नगरपालिकामा भएको दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । 

कटहरी गाउँपालिका–४ जामुनगाछीस्थित विराटनगर–रंगेली सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को१त ४४१४ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको को१९प ७५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनपालथान गाउँपालिका–२ का ७२ वर्षीय बर्मानन्द झाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका झाको उपचारका क्रममा विराटनगरको गोल्डन अस्पतालमा मृत्यु भएको हो । ट्रयाक्टरका चालक कटहरी–५ का ३५ वर्षीय पंकज राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरिखिम्ची चोकस्थित पूर्वपश्चिम राजमार्गमा एउटा जिपले ओभरटेक गर्ने क्रममा अन्य दुईवटा सवारीसाधनलाई एकैपटक ठक्कर दिँदा ११ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज१च १९१६ नम्बरको जिपले सोही दिशातर्फ जाँदै गरेको मे१ख २०३८ नम्बरको यात्रुवाहक बस र को१ज ३००८ नम्बरको भ्यानलाई

एकैपटक पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए । 

दुर्घटनामा पथरीशनिश्चरे–९ की ५५ वर्षीया भीमा नेपाल, २२ वर्षीया लीला तामाङ, ५५ वर्षीया शान्तकुमारी गुरुङ, पथरीशनिश्चरे–३ की ६० वर्षीया फूलमाया तामाङ, ११ वर्षीया बबिता तामाङ, पथरीशनिश्चरे –७ की ३५ वर्षीया मनु कुर्कुची, पथरीशनिश्चरे–४ का ७५ वर्षीय भैरव कटवाल, ४५ वर्षीया शारदा कटवाल, ७४ वर्षीया भक्तिमाया कटवाल, सुन्दरहरैंचा नगरपालिका– १० का ४२ वर्षीया ज्ञानबहादुर सुवेदी र कानेपोखरी गाउँपालिका –५ की ३८ वर्षीया गोमा राई घाइते भएका छन् । 

प्रहरीका अनुसार घाइते हुने सबैजना ठक्कर दिने जिपका यात्रु हुन् । घाइतेहरूको पथरीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तीनवटै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्