हेलिकोप्टर क्रयास : पर्यटनमन्त्रीसहित सातैजनाको मृत्यु



काठमाडौं : पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ को लिङ्खिम भन्ने ठाउँमा दुर्घटना हुँदा त्यसमा सवार मन्त्री अधिकारीसहित सबैको सातजनाको मृत्यु भएको छ । 

मृत्यु भएकामा हेलिकप्टरमा सवार रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङकाजी शेर्पा, नेपाल नागरिक उड्डययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकप्टरका क्याप्टन प्रभाकर केसी छन् ।

घटनास्थलमा पुगेका ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा सिस्नेखोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको जानकारी दिए । 

फेदीबाट घटनास्थलमा प्रहरी पुगेको छ । ४० जनाजति स्थानीय पनि पुगिसकेका छन् । हेलिकप्टर टुक्राटुक्रा भएको अवस्थामा रहेको स्थानीय सुरेश लिम्बुले बताए । 

स्थानीय बासिन्दा, सेना र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेको उनले बताए । ‘अझै आगो नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने, ‘टुक्राटुक्रा भएको हेलिकप्टरमा आगो लागिरहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्