सुस्त भएको भन्दै राजपा नेतृत्वको आलोचना



विराटनगर :  विराटनगरमा मंगलबारदेखि बसेको राष्ट्रिय जनता पार्टी (राजपा) को प्रदेश १ स्तरीय बैठक कुनै पनि ठोस निर्णय नगरिकन बुधबार सकिएको छ । 

बैठक सकिएलगत्तै केन्द्रीय नेताहरू काठमाडौं लागेका छन् । बैठकमा प्रदेशका नेता कार्यकर्ताले विभिन्न समस्या राखे पनि त्यसलाई सुन्ने मात्रै काम भएको स्रोतले बतायो । विभिन्न जिल्लामा चक्रीय प्रणालीअनुसार अध्यक्षमण्डल कायम रहेको विवाद र प्रदेशमा संगठन विस्तारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठक केन्द्रित भएको राजपा प्रवक्ता दिनेश मेहताले बताए । उनका अनुसार आगामी केन्द्रीय महाधिवेशनका विषयमा बैठक केन्द्रित भए पनि बैठकमा कुनै निर्णय भने भएन । 

पार्टीभित्रका गुटउपगुटका विषयमा बैठकमा कुरा उठे पनि केन्द्रीय नेता यस विषयमा मौन रहेको स्रोतले बतायो । मेहताले बैठकमा पार्टीको भावी रणनीति र प्रदेश १ सरकारले गरेका कामकारबाहीका विषयमा पनि छलफल भएको थियो । पार्टीभित्रका मतभेद अन्त्य गरेर जाने विषयमा भने सबै नेता एकमत देखिएका थिए । 

बैठकमा राजपाका केन्द्रीय अध्यक्षमण्डलका ६ जनासहित जिल्लाका अध्यक्षमण्डलका सदस्यहरू, पार्टीका केन्द्रीय सदस्य र पदाधिकारीको सहभागिता रहेको थियो । बैठकमा सहभागी हुन आएका केन्द्रीय अध्यक्षमण्डलका संयोजक महेन्द्रप्रसाद यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिलकुमार झा, शरत्सिंह भण्डारीले आफूनिकटका केन्द्रीय तथा जिल्ला नेता तथा कार्यकर्तासँग अलगअलग भेटघाट गरेको स्रोतले बतायो । 

प्रदेशका झापा, सुनसरी, मोरङ, उदयपुर र धनकुटाबाहेकका जिल्लामा राजपाको संगठन छैन । संगठन भएका जिल्लामा पनि पार्टी चलायमान हुन नसकेको र अन्य जिल्लामा संगठन विस्तार गर्न नसकेको भन्दै बैठकमा केन्द्रीय नेताहरूको तीव्र आलोचना भएको स्रोतले बतायो । 

आगामी केन्द्रीय महाधिवेशन लक्षित प्रदेशस्तरीय बैठक सकेर केन्द्रीय नेताहरू बुधबारै काठमाडौं फर्किएका छन् । राजपा गठन भएपछि पहिलो महाधिवेशन आगामी वैशाख ७, ८ र ९ गते गरिने पार्टीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्