मृत्यु भएका मन्त्रीसहित कसैको पनि चिनिँदैन शव



ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव चिन्न सक्ने अवस्थामा छैनन् । 

भीरमा भएको दुर्घटनामा हेलिकप्टरमा लागेको आगोसँगै डढेर अँगार बनेका शव चिन्न सक्ने अवस्थामा नरहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार दुर्घटना भएका बखत हेलिकप्टर बजारिएको ठूलो आवाज आएको थियो । त्यसलगत्तै डिएसपी थापा नेतृत्वको टोली घटनास्थलतर्फ हिँडेको थियो ।

‘दुर्घटनामा परेलगत्तै हेलिकोप्टरमा दनदनी आगो बल्न थालेछ । त्यही आगोले हेलिकप्टरसहित शव जलेर अँगार बनेका छन्,’ उनले भने, ‘कसैको पनि शव चिन्न सकिँदैन । कसरी पहिचान गर्ने भन्ने अर्को तनाव थपिएको छ ।’ हेलिकोप्टरसँगै टुक्राटुक्रा भएका अवस्थामा शवहरू बटुलेर ल्याइएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मृत्यु भएका सबै शव नेपाली सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएका छन् । शवलाई काठमाडौं पठाउने तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । प्रजिअ भण्डारी पनि घटनास्थलमा पुगेका थिए ।

दुर्घटना भएलगत्तै स्थानीय बासिन्दा, सेना र प्रहरीले घटनास्थलमा पुगेर टुक्राटुक्रा भएका शव संकलन गरेका थिए । ‘उद्धारमा स्थानीय, सेना र प्रहरी खटिँदासम्म दुर्घटनामा परेर टुक्राटुक्रा भएको हेलिकप्टरमा दनदनी आगो बलिरहेको थियो,’ प्रजिअ भण्डारीले भने, ‘उद्धारकर्मीहरूकै सक्रियतामा आगो निभाउने काम भयो ।’ 

आगोले जलेर हेलिकप्टरको पुच्छरको केही भागबाहेक अरू ध्वस्त बनेको जानकारी उनले दिए । उनका अनुसार झमझम पानी परिरहेका बेला पनि हेलिकप्टरमा दनदनी आगो बलेको थियो । पानी र हिमपात परिरहँदा पनि झन् दन्किएको आगो नियन्त्रण गरेर थोरै भए पनि हेलिकप्टरको पुच्छरको भागचाहिँ बचाउन सकिएको प्रजिअ भण्डारीको भनाइ छ । 

ताप्लेजुङको पाथीभरा दर्शन गरेर हेलिकप्टर चढेर फर्किने क्रममा मन्त्री अधिकारीसहित सातजनाको दुर्घटनामा परेर दुखद निधन भएको हो । एयर डाइनेस्टीको एएस ३५० हेलिकप्टर दिउँसो लगभग १ः२५ बजेतिर दुर्घटनामा परेको प्रहरीको अनुमान छ । 

दुर्घटनामा मन्त्री अधिकारी, उनका पिएसओ अर्जुनकुमार घिमिरे, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका कार्यरत उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर धुव्रदास भोछिभया र हेलिकप्टरका चालक प्रभाकर केसीको मृत्यु भएको प्रजिअ भण्डारीले बताए । 

उनका अनुसार मौसम एकदम नै खराब भएर कम भिजिबिलिटीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 

दुर्घटनाअघि पुजारीका हातबाट चियापान

दिउँसो लगभग एक बजेतिरै मन्त्री अधिकारीसहितको टोली पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुगेको थियो । मन्दिरनजिकै अवतरण भएको हेलिकप्टरबाट उत्रिएर टोलीले मन्दिरमा पूजापाठ गरेको थियो । त्यसबेला ठूलै हावा चल्नुका साथै लगातार हिमपात भइरहेको मन्दिरका पुजारी डिल्ली आचार्यले बताए । हिमपात नरोकिएपछि मन्त्री अधिकारीसहितको टोली मन्दिरमा पुजारीसँगै आगो तापेर बसेका थिए । 

मन्त्री अधिकारीले चिया खाने इच्छा व्यक्त गरेपछि पुजारी आचार्यले चिया बनाउँदै गर्दा मौसम केही सफा भएको थियो । मौसम सफा भएको र फेरि मौसम बिग्रन सक्ने भन्दै टोली त्यहाँबाट चिया नखाईकन उठेर हेलिकप्टरतिर अघि बढेको थियो । ‘मसँगै आगो ताप्दै मन्त्रीले चिया खाने इच्छा देखाउनुभएको थियो । मैले बसालेको चिया उम्लन लाग्दै गर्दा मौसम खुल्यो चाँडो जानुपर्छ भन्दै उहाँहरू हेलिकप्टर भएतिर अघि बढ्नुभयो,’ पुजारी आचार्यले भने, ‘चिया उम्लिएपछि मैले कुदाउँदै उहाँहरूलाई हेलिकप्टरछेउमै लगेर चिया दिएँ । धमाधम चिया खाएर सबैजना चढेपछि हेलिकप्टर यहाँबाट उडेको थियो ।’ 

उनले हेलिकप्टर उडेको एक मिनेट पनि बित्न नपाउँदै भीरमा केही पड्किएजस्तो ठूलो आवाज आएको बताए । ‘हामीले तत्काल हेलिकप्टर दुर्घटनामा परेको हो भनेर अनुमान लगाउन सकेनौं । मौसम क्लियर नभएका कारण अलि परसम्म देख्न सक्ने अवस्था पनि थिएन,’ उनले भने, ‘केही समयमै मन्त्री चढेको हेलिकप्टर दुर्घटनामा परेको थाहा भयो । त्यसपछि उद्धारमा भन्दै सबै त्यतैतिर दौडिए ।’ उनले आन्तिम पटक आफ्नै हातबाट बनाएको चिया खुवाएर पठाएका मन्त्रीसहितका सातजनाको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताए । 

‘मन्त्रीकै इच्छामा चिया खुवाउन भ्याएको थिएँ । उहाँहरूले हतारहतार गर्दैगर्दा कुदाउँदै लगेर चिया दिनसम्म चैँ भ्याएँ,’ आचार्यले भने, ‘यो घटनाले सबैलाई स्तब्ध बनाएको छ । सबैका मन मरेका छन् ।’ 

तीर्थस्थलमा आएका मन्त्रीसहितका उच्चपदस्थहरूको पाथीभराकै काखमा प्राण उडेको घटनाले सबैलाई सधैँ पोलिरहने र झस्काइरहने आचार्यको भनाइ छ । ‘भगवानले रक्षा गर्नुपर्ने ठाउँमा यस्तो अवस्था देख्न प¥यो,’ उनले भने, ‘देशका लागि केही गरौं र केही गर्नु पर्छ भन्ने स्पष्ट भिजन लिएर हिँडेका होनहार नेता गुमाउनुपर्दा सबैको मन रोएको छ ।’

आचार्यले मन्त्री अधिकारीले आफूलाई चिया बनाउन आग्रह गरेको स्मरण गरे । ‘धेरै चिसो पनि भयो । हिउँ पनि बाक्लै पर्न थाल्यो । यस्तो अवस्थामा हेलिकप्टर उड्न पनि सक्दैन,’ मन्त्री अधिकारीले आगो ताप्दै आफूलाई भनेको कुरा उद्धृत गर्दै पुजारी आचार्यले भने, ‘तपाईले साह्रै मिठो चिया बनाउनुहुन्छ भन्ने सुनेको थिएँ । हिमपातले तपाईंको हातबाट बनेको चिया खाने अवसर पनि जुराएजस्तो छ । ल राम्रोसँग चिया बनाएर सेवा गर्नुस् त ।’ 

तेह्रथुमको थुम्कीमा विमानस्थलका कुरा

यसअघि मन्त्री अधिकारीको टोली तेह्रथुमको आठराई चुहानडाँडास्थित थुम्कीमा बन्न लागेको विमानस्थल अवलोकन गर्नका लागि पुगेको थियो । तेह्रथुममा उनले तीन वर्षभित्रमा विमानस्थल बनिसक्ने भन्दै सबैलाई आश्वस्त पारेका थिए । अधिकारीले तीन वर्षभित्रमा विमानस्थल बन्ने कुरामा सबैलाई ढुक्क हुन आग्रह गरेका थिए ।

विमानस्थलको विस्तृत सर्भेका लागि एक साताभित्रमै प्राविधिकसहितको टोली पठाइहाल्ने प्रतिबद्धता पनि उनले जनाएका थिए ।

तीन वर्षभित्रमा यहीँ जहाज चढ्न पाइने भइयो भनेर खुसी भएका तेह्रथुमवासीले त्यसको केहीबेरमै प्रतिबद्धता व्यक्त गर्ने मन्त्रीको हेलिकप्टर दुर्घटनामा परेर दुखद निधन भएको खबर सुन्न परेको तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले बताए । ‘यहाँका जनतासहित हामीलाई ठूलो आस लागेको थियो । तीन वर्षभित्रमा विमानस्थल बन्ने कुराले जिल्लावासी खुसी भएका थिए,’ उनले भने, ‘त्यो खुसी एकछिन पनि टिक्न पाएन । दुखद खबरपछि अहिले सबै स्तब्ध भएका छौं ।’

लिम्बुले विमानस्थलको विषयलाई लिएर जिल्लामा आउनुभएका मन्त्रीसहितको टोलीमा सहभागी सातजनाको दुखद निधनको खबर तेह्रथुमे जनताका लागि सधैँका लागि पीडादायक रहने भन्दै दुःख व्यक्त गरे । उनका अुनसार मन्त्री अधिकारीले आठराईमा आयोजित कार्यक्रममा छोटो समय बोेलेपछि टोलीमा सहभागीहरू खाना खाएका थिए । 

खाना खाएपछि पाथीभरा दर्शनका लागि भनेर मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङतिर उडेको लिम्बुले बताए । ‘यति दुखद् खबर सुन्नुपर्दा मन बेचैन भएको छ,’ उनले भने, ‘तेह्रथुमेलीलाई तीन वर्षभित्रमा विमानस्थल दिन्छु भनेर जनतालाई खुसी पार्नु भएलगत्तै मन्त्रीको अवसानको खबर सही नसक्नु भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्