प्रदेश १ सरकारद्वारा शोक प्रकट



विराटनगर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति प्रदेश १ सरकारले शोक व्यक्त गरेको छ ।

बुधबार आकस्मिक मन्त्रिपरिषद बैठक बसेर प्रदेश सरकारले शोक व्यक्त गरेको हो । यसैबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक शोक वक्तव्य प्रकाशित गर्दे हेलिकोप्टर दुर्घटनाले प्रदेश सरकार मर्माहत भएको बताएका छन् ।

मुख्यमन्त्री राईले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘यो दुखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ ।’

विद्यार्थी जीवन हुँदै संगठन र संघर्षबाट अगाडि बढ्नुभएका अत्यन्त जुझारु युवा नेता अधिकारीसहित हेलिकोप्टरमा सवार सबै यात्रुको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको वक्तव्यमा उल्लेख छ ।

‘दुर्घटनामा निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ मुख्यमन्त्री राईले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्