विराट पर्वबाट अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु  



विराटनगर  : विराटनगरस्थित सुशीला कोइराला नाटकघर आरोहण गुरुकुलमा बुधबारबाट अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको  छ । 

प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा सुरु भएको महोत्सवमा ६ देशका रंगकर्मीको सहभागिता छ । १० दिनसम्म चल्ने महोत्सवमा विदेशी पाँचसहित नेपालका छवटा गरेर १० वटा नाटक मञ्चन हुनेछन् । महोत्सवको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समाज र संस्कृतिलाई जोड्ने राम्रो माध्यम नाटक भएको बताए । उनले नाटकको संरक्षण र विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान र इटालीका कलाकारले दैनिक एकएकवटा नाटक प्रदर्शन गर्नेछन् । जसमा नेपालका मात्रै पाँचवटा रहनेछन् । विराटनगर महानगरपालिका र प्रदेश सरकारको सहयोगमा आयोजना गरिएको महोत्सवमा करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले महोत्सवमा एक सयजति विदेशी र त्यत्ति नै संख्यामा नेपाली कलाकार, नाट्य निर्देशक र लेखक सहभागी भएको जानकारी दिए । इटालीका कलाकारले तीनदिने नाट्य कार्यशालासमेत सञ्चालन गर्नेछन् । पुस्तक र चित्रकला प्रदर्शनी तथा रंगकर्मी र रंगमञ्चबारे अन्तरक्रिया पनि हुनेछन् । 

पहिलो दिन बुधबार ‘विराट पर्व’ नाटक मञ्चन गरेर महोत्सव शुभारम्भ गरिएको छ । आरोहरण गुरुकुलका कलाकारले अभिनय गरेको नाटक गुरुकुलले नै तयार पारेको हो । फागुन १६ गते बिहीबार बंगलादेशको ‘मातब्रिङ’, १७ गते इटालीको ‘डिसापारासिड ओएस ४३’ फागुन १८ गते भारतको ‘चम्पावती’ फागुन १९ गते श्रीलंकाको ‘लभ एन्ड लाइफ’ फागुन २० गते झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’, २१ गते परिवर्तन थिएटर काँकडभिट्टाको ‘बिटुलो आख्यान’, फागुन २२ गते अफगानिस्तानको ‘ता राहाये’, फागुन २३ गते परिवर्तन थिएटर उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ र फागनु २४ गते कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ मञ्चन गरिनेछन् । 

महोत्सव उद्घाटनका क्रममा प्राज्ञ दधिराज सुवेदी, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाललगायतले विराटनगर नाटक र कलाको विकासमा अग्रणी रहेको चर्चा गरे । 

प्रतिक्रिया दिनुहोस्