दुर्घटनामा परेर घाइते भएका यात्रुको मृत्यु   



विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरिखिम्ती चोकमा तीनवटा सवारीसाधन ठक्कर खाएर भएको दुर्घटनामा परेर घाइते भएका एक यात्रुको बिहीबार मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंका अनुसार दुर्घटनामा पथरीशनिश्चरे–४ का ७५ वर्षीय भैरव कटवालको मृत्यु भएको हो । 

बजगाईंले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज१च १९१६ नम्बरको जिपले ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको मे१ख २०३८ नम्बरको यात्रुवाहक बस र को१ज ३००८ नम्बरको भ्यानलाई एकैपटक पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जानकारी दिए । 

मृत्यु भएका कटवाल जिपका यात्रु हुन् । दुर्घटनामा घाइते भएका कटवालको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । 

बुधबार भएको दुर्घटनामा कटवालसहित जिपमा सवार ११ जना घाइते भएका थिए । अन्य घाइतेहरूको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीनवटै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गर्ने काम भइरहेको जानकारी प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्