दाताको सहयोगमा बोल्न नसक्नेहरूबीच विवाह 



विराटनगर : मोरङको रंगेली नगरपालिका–९ युुुवा चोकनजिकै बिहीबार रमझम र घरमा बाजागाजासहित निकै रमाइलो थियो । बेहुलाबेहुलीबीच अंंगानमा क्रिस्चियन समुदायको विधिमा विवाह भइरहेको थियोे । सबै बिहेमा मस्त थिए । बेहुला आफ्नो विधिअनुसार विवाहको कर्ममा थिए । बेहुलीका बुबा पाहुनालाई खानपिन गराउँदै थिए । यो कुनै नाटक हैन विवाहको एउटा  वास्तविकता हो । 

मोरङको रंगेली नगरपालिका – ९ कोे युुुवाचोेकका लुखीराम हस्दाकी २२ वर्षीया छोरी फुलुनी हस्दा सानै उमेरदेखि बोल्दिन थिइन् । लुखीरामले छोरीलाई विभिन्न ठाउँमा उपचारका लागि पु¥याए । तर फुलुनीको मुखबाट बोली फुट्न सकेन । छोरी ठूली हुँदै गइन् । लुखीरामलाई एउटा पीडाले सताउन थाल्यो । अब छोरीको बिहे नहुने भयो भनेर । एक छोरी र दुई छोरामध्ये छोरी र १५ वर्षका कान्छो छोराको पनि बोली आउँदैन । 

रंगेली–२ का ताला हेमरनका छोरा राकेशको पनि सानैदेखि बोली आउँदैन थियो । विभिन्न ठाउँमा उपचारका लागि लैजाँदा पनि छोराको बोली नआएको तालाले बताए । राकेश पनि २४ वर्षका भए । उनै दुवैजना बोली नआउने फुलुनी र राकेशबीच बिहीबार धुमधामका साथ बिहे भयो । सानो पराले झुपडीमा भएको विवाह निकै रमाइलो थियो । आर्थिक अवस्था कमजोर रहेका बेहुलीपक्षका परिवारमा विवाहका लागि कसरी खर्च जुटाउने भन्ने समस्याका बीच विवाह हुँदै थियो । 

रंगेलीमै २०७१ सालमा स्थापना भएको सवितादेवी अग्रवाल ट्रष्ट गरिब  र दिनदुःखीका लागि भगवान् भएको छ । गाउँघरका गरिब परिवारको सहयोगी बनेको ट्रष्टले पछिल्लो समय नयाँ सामाजिक कामको थालनी गरेको छ । त्यही ट्रष्टले आर्थिक सहयोग गरेपछि दुईजनाबीचमा बिहे सम्भव भएको हो । ट्रष्टले बेहुलीपक्षलाई बिहेमा हुने सबै खर्च बेहोरिदियो । 

गरिब परिवार भएकै कारण छोरीको विवाह गर्न नसक्ने तथा आर्थिक अभावका कारण समस्या आउन नदिनका लागि सहयोग गर्दै आएको ट्रष्टका अध्यक्ष मदनलाल अग्रवालले बताए । आर्थिक अवस्था एकदमै कमजोर रहेको परिवारबाट सहयोगको आग्रह गरिएपछि उनीहरूको अवस्था हेरेर सहयोग गर्ने गरिएको उनले बताए । ट्रष्टले फुलुनी हस्दाको बिहेका  लागि आवश्यक पर्ने बेहुली साडी, चुरा, पाउजु, घडीलगायतका सामान र बेहुलालाई बेहुलीपक्षले दिनुपर्ने घडी, कपडा तथा गरगहना उपलब्ध गराएको थियो । 

त्यस्तै बेहुली पक्षले जन्तीलाई गर्नुपर्ने बिहेभोजको व्यवस्थासमेत ट्रष्टले गरिदिएको अग्रवालले बताए ।

संस्थाका अध्यक्ष अग्रवालले बिहेमा दाइजोबाहेकका आवश्यक सबै खर्च ट्रष्टले बेहोरेको बताए । ‘दाइजोचाहिँ हामी दिँदैनौं । दाइजो दिने परिवारलाई हामी कुनै सहयोग गर्दैनौं,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवारमा छोरीको बिहे गर्नुपरेमा दाताका रूपमा सहयोग गर्छौं ।’ ट्रष्टकै सहयोगमा यस अघि दुई युवतीको विवाह भएको थियो । आर्थिक अवस्था कमजोर भएर अभिभावकले विवाह गर्न सक्ने अवस्था नभएका दुई युवतीको बिहेमा आवश्यक पर्ने सबै सामान ट्रष्टले सहयोग गरिदिएको हो । 

एउटा विवाहमा ६० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको अग्रवालले बताए । फुलुनीको बिहेमा सहभागी हुनका लागि सवितादेवी अग्रवाल ट्रष्टका अध्यक्ष मदनलाल, करण ठाकुर , दिलीप मण्डल,  समाजसेवी कमल राजवंशी, अनिल महेश्वरी पुगेका थिए । ट्रष्टले छोरीको बिहेमा सहयोग गर्नका लागि सर्त राख्ने गरेको छ । बेहुलापक्षले दाइजो माग्न नहुने, बेहुला–बेहुलीको बिहे गर्ने उमेर पुगेको हुनुपर्ने, पारिवारिक आर्थिक अवस्था कमजोर भएको हुनुपर्ने लगायतका सर्त पूरा भएको परिवारको छोरीको बिहे गर्न सहयोग गर्ने गरिएको अध्यक्ष अग्रवालले बताए । 

उनका अनुसार यसअघि पनि आर्थिक अवस्था कमजोर भएका परिवारका दुईजना छोरीको बिहेमा सहयोग गरिएको बताउँदै उनले यस वर्ष १० वटा बिहेमा सहयोग गर्ने योजना बनाइएको छ । 

‘दाता नभेटेको भए छोरीको बिहे गर्न मुस्किल पर्ने थियो,’ लुखीरामले भने, ‘दाताकै सहयोगमा छोरीको बिहे गर्न सकेको हुँ ।’ उनले रकम अभावमा छोरीको बिहे गर्न सक्ने अवस्था नभएका परिवारका लागि ट्रष्टको सहयोग ठूलो आधार बनेको बताए । 

प्रतिक्रिया दिनुहोस्