प्रहरीको दीक्षान्त समारोह सम्पन्न 



विराटनगर : विराटनगरमा रहेको प्रदेश १ प्रहरी तालिम केन्द्र रानीमा प्रहरी जवान आधारभूत तालिम १३६ औं समूहको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । 

प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । गत जेठ १६ गतेदेखि फागुन १६ गते बिहीबारसम्म सञ्चालन भएको प्रहरी जवान आधारभूत तालिममा १३५ जना प्रशिक्षार्थी प्रहरी जवानका रूपमा दीक्षित भएका छन् ।

कार्यक्रममा तालिम अवधिभर लिइएको चरणगत पररीक्षाको प्राप्ताङ्कका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीलगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकलाई पुरस्कृत गरियो । उनीहरूलाई डिआइजी रिजालले नगद, प्रमाणपत्र र प्रशंसापत्रसहित पुरस्कृत गरे । 

उनले स्वेच्छाले प्रहरी सेवा रोज्ने दीक्षित प्रहरी जवान र प्रहरी संगठनमा आबद्ध हुन उत्प्रेरित गर्ने उनीहरूका परिवारजनलाई धन्यवाद दिए ।

करिब १० महिनाको तालिम अवधिमा सिकेका ज्ञान र सीप प्रहरी जीवनको आधारभूत र अमूल्य निधि भएकाले सिकेका व्यावसायिक ज्ञानलाई जीवनका हरेक मोडमा मार्गदर्शनका रूपमा स्मरण गर्न उनले अनुरोध गरे । 

रिजालले आआफ्नो कार्य क्षेत्रमा राम्रा–नराम्रा, तितामिठा, शुभअशुभ धेरै कुरा र परिस्थितिको सामना गर्नुपर्ने भएकाले आफ्नो व्यावसायिक जिम्मेवारी र उत्तरदायित्व तथा जवाफदेहिता वहन गर्दै असल प्रहरी बनेर जनताको मन जित्ने कार्य गर्न निर्देशन दिए ।

दीक्षान्त समारोहमा प्रशिक्षार्थीलाई तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले शपथग्रहण गराएका थिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत, प्रदेशस्तरीय अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगीव्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पूर्व प्रहरी कर्मचारी, दीक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानका परिवारजन, जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्