कांग्रेसले विरोध गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित



मोरङ : प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएपछि मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

सभामुख प्रदिपकुमार भण्डारीले सोमबार बैठक शुरु गर्ने वित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दासमेत नबसेपछि एक जनालाई ५ मिनेटभित्र आफ्ना कुरा राख्न समय दिइएको थियो ।

उक्त समयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले काठमाडौंबाहिर बसेकालाई अनुमति लिएर मात्र प्रवेश गर्न पाउने लगायतका कुराले सर्वसधारणलाई विभेद भइरहँदा पनि प्रदेश सरकार मौन बसेकाले सभा अवरुद्ध गर्न बाध्य भएको बताए ।

‘कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले गरेको खर्च पटकपटक प्रदेशसभा सार्वजनिक गर्न माग गर्दा समेत मुख्यमन्त्री शेरधन राईले किन गर्न चाहेनन् ?’, उनले भने, ‘सार्वजनिक यातायात चलाउने यातायात व्यवसायी र मजदुरको पीडा प्रदेश सरकारले बोल्ने कि नबोल्ने ?’

चालु बजेट अधिवेशनमा प्रदेशको नामकरण गर्ने विषयमा प्रदेशसभाका ठूला दलका नेताले सार्वजनिक धारणा राख्नुपर्ने उनले माग गरे ।

सभामुख भण्डारीले पुनः बैठक सञ्चालन गर्न खोज्दा पनि कांग्रेसले उठेर विरोध जनाइरहेपछि १० मिनेटका लागि बैठक स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्