विल्म्सट्युमरबाट पीडित दृष्णाको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारजनको अपिल



जनकपुरधाम– अनौठो किसिमीको रोग विल्म्सट्युमरबाट पीडित भएकी सिरहाको ११ महिने दृष्णा पण्डितलाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै दृष्णाको परिवारले सहयोगको मागेको हो ।

सिरहाको महेशपुर निवासी दिनेश पण्डित र उनको परिवारले मृगौलामा हुने विल्म्सट्युमर पीडित छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण दिनेशको ११ महिने छोरी दृष्णाको केमोथेरापी चलिरहेको बेला साथीभाइका साथै सामाजिक सञ्जाल मार्फत पनि सहयोगका लागि डा.सज्जन ठाकुरले अपिल गरेका छन् । सर्जरी गर्न र बच्चा ठिक हुन झण्डै ४० देखि ५० लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले जानकारी गराएका छन् ।

जन्मिदा स्वस्थ्य जन्मेको दिनेशकी छोरी दृष्णाको ६ महिनापछि पेटमा समस्या उत्पन हँुदा तत्कालै उपचारका क्रममा चिकित्सकले उनलाई विल्म्सट्युमर भएको पत्ता लगाएका थिए ।
चिकित्सकले तुरुन्तै इलाज गर्ने सुझाव दिएपछि पण्डित परिवारले जेनतेन रकम जुटाइ केहि दिन अघि मात्र दृष्णालाई नेपाल क्यान्सर अस्पतालमा भर्ना गराएका छन् । दृष्णा अझैपनि उपचारकै क्रममा छिन् ।

अहिलेसम्म जेनतेन गरी नियमित उपचार गराउँदै आएको पण्डित परिवारलाई उपचारमा लाग्ने रकम ठुलो भएकोले आर्थिक संकट आइपरेको छ । शल्यक्रिया लागि भारत लग्नुपर्ने भएकाले पण्डित परिवार सहयोगको खोजीमा छ ।

’चिकित्सकहरुले दुबै मृगौलानै फेर्नुपर्ने सुझाव दिएका छ्न । त्यसका लागि ठूलै रकम लाग्ने अवस्था छ,’पण्डितले भने,’आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेको छु,सबैले सहयोग गरिदिए मेरो छोरी बाँच्ने छिन् ।’

दृष्णाको उपचारका लागि नबिल बैंकमा उनको नाममा रहेको खाता नम्बर ०१५१००१७५१२१७६ मा रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्