लगातारको वर्षाले जनकपुर जलमग्न



जनकपुरधाम : लगातार तिन दिनदेखि परेको वर्षाले जनकपुरधामका अधिकांश स्थानहरु जलमग्न भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ४, ७, ९, २३ लगायतका अधिकांश घरहरुमा पानी प्रवेश गरेको छ । सडकमा करिव १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवातजावतमा समस्या उत्पन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ को मुसहरी टोल, सरस्वती नगर, मिथिला नगर लगायतको टोल टोलमा पानी जमेको छ भने वडा नम्बर–१३ को पीडारीस्थित धत्ताटोलमा समेत पानी जमेको छ ।

त्यस्तै लगातारको वर्षाका कारण यहाँका सरकारी कार्यालयहरु राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन संघ, महिला विकास केन्द्र, वन निर्देशनालय लगायतका परिसर जलमग्न भएका छन् । सडकमा कालोपत्रे र पेटी निर्माणका क्रममा ढलमा इँट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरूद्ध भएको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेशसभा भवन, प्रादेशिक अस्पताल, रेडक्रस सोसाइटी, बाह्रविघा मैदान, रामानन्दचोक लगायतका स्थानहरु समेत जलमग्न भएका छन् ।

उता महोत्तरीको सदरमुकाम जलेश्वर बजारको मुख्यचोक र सरकारी कर्यालयहरुमा समेत पानी जमेको छ । जलेश्वरस्थित नापी कार्यालय, मालपोत कार्यालय, लोकसेवा आयोगको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका स्थानमा पानी जमेको छ ।

वर्षाको शुरुवातमै यस्तो अवस्था सिर्जना भएपछि स्थानीय चिन्तित भएका छन् । स्थानीय सरकारको अग्रिम तयारी नदेखिएकोले भारी वर्षा सुरु हुँदा जनजिवन प्रभावित हुने देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्