वीरगन्जको कोभिड अस्पतालमा उपचाररत २१ जना संक्रमित डिस्चार्ज



वीरगन्ज– वीरगन्जको गण्डक स्थित रहेको नारायणी अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोनामुक्त भएर घर फर्केका छन् । आइतबार कोरोना सक्रमणमुक्त तीन महिला सहित २१ जना घर फर्केकालाइ अस्पतालका चिकित्सक तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले भब्य रुपमा बिदाइ गरेका हुन् ।

डिस्चार्ज हुनेमा पर्साको बिन्दवासनी गाउँपालिकाका १०, पोखरिया नगरपालिकाका ५ जना, पटेर्वासुगौली गाउँपालिकाका दुई जना, धोबनी, जिराभवानी, सुखवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका एक र एक जना छन् ।

तीन महिलासहित २० देखि ५६ वर्ष उमेरसमूहका २१ जना कोरोनामुक्त भई डिस्चार्ज भई घर फर्केको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले बताए । उनले भने– ‘पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।’

कोरोना निको भई डिस्चार्ज हुने २१ मध्ये ११ जनामा गत जेठ ३२ र १० जनामा असार १ गते संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल ल्याइएको भर्ना गरिएको थियो । अस्थायी कोभिड अस्पतालमा अब १ महिला सहित ६ जना मात्र संक्रमित छन् ।

उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले बताए । रिपोर्ट पोजेटिभ आएपछि संक्रमणको कुनै प्रकारको लक्षण नदेखिएकोले सरकारले प्रकृया अनुसार १४ दिन अस्पतालमा भर्ना गरेर डिस्चार्ज हुने उनले बताए ।

पर्सा जिल्लामा हाल सम्म १५६ जना कोरोना संक्रमित भेटिएका छन । ती मध्ये ५ जना भारतीय सहित ९ जना स्वास्थ्यकर्मी, २ जना पत्रकार र एक जना एम्बुलेन्स चालक रहेका छन । कुल संक्रमित मध्ये १ महिला सहित ६ जना बाहेक सबैजना उपचार पश्चात घर फर्किसकेका छन् ।

जिल्लामा हालसम्म ६ हजार ६ सय ८ जनाको पीसीआर परिक्षणको लागि स्वाब संकलन भईसकेको छ । जसमध्ये ३ सय ७२ जनाको रिपोर्ट अहिले आउँन बाँकी छ । त्यसैगरी ४ हजार ९ सय ८ जनाको आरडिटी परिक्षण गरिएको छ । ३८ ठाउँमा १७२० बेडको स्थापना गरिएको क्वारेन्टाईनमा ८४ महिला सहित ४ सय ७० जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्