राजु सदा घटनामा छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन



जनकपुरधाम : प्रादेशिक अस्पतालमा उपचार नपाएर मृत्यु भएका १६ वर्षीय युवक राजु सदाको घटनाको विषयमा छानविन गर्न अध्ययन विशेष समिति गठन गरिएको छ ।

आइतबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा प्रादेशिक अस्पताल जनकपुरमा भएको घटनालाई छानविन गर्न ५ सदस्यीय अध्ययन विशेष समिति गठन गरिएको हो । समितिमा प्रदेशसभा सदस्य रविन्द्र बैठा, चमेली देवी दास, सुरीता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य रहेका छन् । सभामुखको निर्देशनमा रहि समितिले आवश्यकता अनुसार विशेषज्ञ लगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिनसक्ने, अनुगमन वा निरीक्षण गर्नसक्ने, विभिन्न मन्त्रालय वा कार्यालयबाट आवश्यक कागजात माग गर्नसक्ने र पदाधिकारीहरुसँग छलफल गर्नसक्ने गरि समितिको कार्यविधि बनाइएको सभामुख सरोज कुमार यादवले जानकारी दिए । समितिलाई प्रतिवेदन बुझाउन ५ दिनको समयसिमा दिईएको छ ।

कोरोना लागेको आशंकामा प्रादेशिक अस्पताल जनकपुरमा जेठ २८ गते भर्ना गरिएको धनुषाको हंसपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय युवक राजु सदाको असोज ९ गते उपचार नपाएर मृत्यु भएको थियो । सदाको मृत्यु भएपछि उनका परिवारजनले घटनाको अनुसन्धान गर्न माग गर्दै आइरहेका छन् ।

यस घटनाको छानविन गर्न प्रदेश सरकारले समेत स्वास्थ्य निर्देशनालयका संयोजक डाक्टर हरिश्चन्द्र साहको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिसकेको छ । समितिका सदस्यहरुमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख नवल किशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून उपसचिव दिलिप कुमार प्रधान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्