सरकारलाई चुनौती आन्तरिक कि बाह्य ?



काठमाडौं : पूर्वराजदूत दिनेश भट्टराई भन्छन्–प्रधानमन्त्री ओलीले विदेश नीतिलाई अति राजनीतीकरण गरिरहनुभएको छ : प्रधानमन्त्री ओली कूटनीति सञ्चालनमा दिग्भ्रमित र असन्तुलित हुनुहुन्छ । कूटनीतिमा उहाँ पूर्णतः असफल हुनुभएको छ । उहाँले विदेश नीतिलाई राजनीतीकरण गरिरहनुभएको छ । विदेश नीतिको दुरुपयोग गरेर उहाँले आफ्नो औचित्य साबित गर्न खोज्नुभएको छ । यो एकदमै अनुचित छ ।

बु्रकिंग्स इन्डियाका रिसर्च फेलो कन्स्टेन्टिनो जेभियर भन्छन्–अहिले २०१८ मा माल्दिभ्सको यमिन सरकार र भारतबीच सम्बन्ध टुटेजस्तै हो : प्रधानमन्त्री ओली सही वा गलत जे भए पनि उनको भनाइले यी विषय प्रतिविम्बित गर्छन्– १. आन्तरिक राजनीतिमा उनको कमजोरी र चिन्ता २. भारतसँगको सम्बन्ध पूर्ण रूपमा विच्छेद । अहिले नेपालसँग भारतको सम्बन्धको अवस्था यसअघि सन् २०१८ मा माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमीनसँगको तिक्तताजस्तै बन्दै छ । र, यो सम्बन्ध कसरी समाप्त भयो हामी जानकार नै छौँ ।

रणनीतिक मामिलाविज्ञ पूर्वरथि विनोज बस्न्यात भन्छन्–नेपाल र भारतको आधारभूत संवादमा राष्ट्रिय रणनीतिक दृष्टिकोणको कमी छ : नेपाल र भारतको आधारभूत संवादमा राष्ट्रिय रणनीतिक दृष्टिकोणको कमी छ । जनस्तर र राजनीतिक सम्बन्धको भविष्यका लागि यो राम्रो होइन । मोदी सरकारले ओली सरकारसँग संवाद नगर्ने सम्भावना मैले प्रबल देखेको छु र अब जनस्तरमा मात्रै द्विपक्षीय सम्बन्ध सीमित रहने सम्भावना देखियो ।

प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको आरोप लगाएपछि स्वाभाविक रूपमा कूटनीतिक क्षेत्र पनि तरंगित भएको छ । हुन त भारतले २६ वैशाखमा नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडकमार्ग उद्घाटन गर्नुअघि नेकपा सचिवालय बैठकमा शीर्ष नेताले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । अहिले फेरि स्थायी कमिटीमा उनीमाथि दबाब छ । त्यसैले आन्तरिक राजनीतिक प्रतिरक्षाका लागि प्रधानमन्त्री ओलीले भारतीय षड्यन्त्रको कार्ड खेल्न खोजेको टिप्पणी कूटनीतिक विज्ञहरूको छ । 

पूर्वराजदूत डा. दिनेश भट्टराई प्रधानमन्त्री आफैँले आत्मबल गुमाउँदै गएकाले यस्ता टिप्पणी आएको बताउँछन् । ‘प्रधानमन्त्री ओली आफैँले नेतृत्व गरेको व्यवस्थामा आफैँले विश्वास नगरेको, धरमर भएको, नेतृत्व–क्षमता देखाउन नसकेको देखियो । आफू जुन प्रक्रियाबाट प्रधानमन्त्री बन्नुभयो, त्यसमा भारतलाई किन जोड्नुभयो भन्नेमा म आश्चर्यचकित छु,’ डा भट्टराईको भनाइ छ, ‘के उहाँ प्रधानमन्त्री बन्ने प्रक्रियामा भारत कतै थियो ? थियो भने उहाँलाई ढाल्ने प्रक्रियामा पनि हुन सक्छ । अन्यथा व्यवस्थापनको दोष अरूलाई दिएर हुँदैन, आफ्नो दक्षतामा हेर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफू हटेमा देशको पक्षमा बोल्ने अरू कोही नेता छैनन् भनेर अरू नेताको अवमूल्यन गर्न खोजेको पनि भट्टराईको टिप्पणी छ । ‘प्रधानमन्त्री ओली कूटनीति सञ्चालनमा दिग्भ्रमित र असन्तुलित हुनुहुन्छ । यसमा उहाँ पूर्णतः असफल हुनुभएको छ । उहाँले विदेश नीतिमाथि अति राजनीतीकरण गरिरहनुभएको छ,’ भट्टराईले भने, ‘विदेश नीतिको दुरुपयोग गरेर उहाँले आफ्नो औचित्य साबित गर्न खोज्नुभएको छ । यो एकदमै अनुचित छ ।’

सामरिक एवं रणनीतिक मामिलाविज्ञ पूर्वउपरथी विनोज बस्न्यातले नेपाल र भारतको सम्बन्धमा भूराजनीतिक यथार्थको अवमूल्यन हुँदा समस्या जटिल भएको टिप्पणी गरे । उनले भने, ‘नेपाल र भारतको आधारभूत संवादमा राष्ट्रिय रणनीतिक दृष्टिकोणको कमी छ । जनस्तर र राजनीतिक सम्बन्धको भविष्यका लागि यो राम्रो होइन । मोदी सरकारले ओली सरकारसँग संवाद नगर्ने सम्भावना मैले प्रबल देखेको छु र अब जनस्तरमा मात्रै द्विपक्षीय सम्बन्ध सीमित रहने सम्भावना देखियो ।’

नेपाल–भारत सम्बन्धका जानकार तगा बु्रकिंग्स इन्डियाका रिसर्च फेलो कन्स्टेन्टिनो जेभियरले ट्विटरमा भनेका छन्, ‘प्रधानमन्त्री ओली सही पनि हुन सक्छन्, गलत पनि । तर, अहिले देखिएको अवस्था २०१८ मा माल्दिभ्सको यमिन सरकार र भारतबीच सम्बन्ध टुटेजस्तै हो ।’  प्रधानमन्त्री ओलीप्रति दिल्लीको विश्वास घट्दै गएको भए पनि अन्य राजनीतिक विकल्पका लागि भारतले हस्तक्षेप गर्छ भनेर बुझ्न नहुने उनको तर्क छ ।

‘भारतले द्विपक्षीय सम्बन्ध सुधारका लागि ओलीलाई नै समस्याका रूपमा देख्न सक्ने स्थिति बनेको छ । तर, भारतलाई आरोप लगाउने नेपालका कुनै पनि नेतृत्व शक्तिमा धेरै समय टिकेको देखिँदैन । भारतले अब छिमेकमा भू–आर्थिक कनेक्टिभिटीको दीर्घकालीन रणनीतिमा जोड दिनुपर्छ,’ उनले भनेका छन् । 

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्– प्रधानमन्त्रीको अभिव्यक्तिले भारतसँगको वार्तालाई असर गर्न सक्छ

हामी अहिले भारतसँग परिपक्व कूटनीति देखाउनुपर्ने अवस्थामा छौँ । प्रधानमन्त्रीले यसरी विनाआधार अपरिपक्व रूपमा बोल्दा कूटनीतिक तह र भारतसँगको वार्तालाई असर पार्न सक्छ । कार्यकर्ताले जे पनि बोल्न सक्लान्, तर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले परिपक्व कूटनीति देखाउनुपर्छ । सन्तुलन नमिलाउँदा देश र जनताले दुःख पाउँछन् । त्यसैले जिम्मेवार व्यक्तिहरूले बोल्दा सन्तुलित भएर बोल्नुपर्छ । अरू बदल्न सकिन्छ, छिमेकी बदल्न सकिन्न ।

सरकारसँग बहुमत छ । बहुमतको सरकारले भ्रष्टाचार रोक्ने, पार्टी मिलाउने र देशलाई बनाउन पो लाग्ने हो त, अरूलाई दोष दिने होइन । भारतले प्रधानमन्त्रीलाई हटाउन नै खोजेको हो भने उहाँले भारतीय राजदूतसँग स्पष्टीकरण सोध्ने, आफ्नो संयन्त्रमार्फत कुरा गर्ने हो । बाहिर गनगन गरेर हुँदैन । कहिले उत्तर, कहिले दक्षिण र कहिले अमेरिकालाई दोष दिएर आफ्ना कमजोरी लुकाउनतिर लाग्नुहुँदैन ।

यस्तै आरोप–प्रत्यारोपमा उत्रिएर हुँदैन । हो भने तथ्य प्रमाणका आधारमा बोल्नुपर्छ । यस्ता हावादारी कुराले आफैँलाई कमजोर बनाउँछ । यस्ता हर्कतबाट नेपाली जनता आजित छन् । नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्