बेपत्ता भएको २ वर्षपछि पत्रकार खड्काको निधन भएको पुष्टि



डोटीः डोटीका पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको २ वर्षपछि निधन भएको पुष्टि भएको छ ।

नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष रहेका पत्रकार खड्काको निधन भएको पुष्टि भएको हो ।

बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय टोली सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको टोलीले २०७६ साल मंसिरमा बाजुराको बुढिनन्दामा मानव कङ्काल भेटाएको थियो ।

उक्त मानव कङ्काल नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको र प्रयोगशालामा गरिएको परीक्षणपछि सो कङ्काल पत्रकार तेजबहादुरकै रहेको पुष्टि भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले भने, “खोजबिन टोलीले पाएको मानव कङ्काल डिएनए परीक्षणका लागि हाम्रो विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो, परीक्षणपछि रिपोर्ट हेर्दा खड्काकै कङ्काल भएको पुष्टि भएको छ ।”

बेपत्ता भएका पत्रकार खड्काको खोजी गर्ने क्रममा वेपत्ता भएको एक वर्षपछि २०७६ साल मंसिरमा २ वटा करङ, झोला र परिचयपत्र भेटिएको थियो । उनी दिपायल सिलगढी नगरपालिका-१ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापकको रूपमा काम गर्ने गरेका थिए ।

उनी रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रिय प्रसारण केन्द्रमासमेत लामो समय कार्यरत रहेका थिए । उनी २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा वरमाग्ने डाँडाबाट एकाएक बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्