नागरिकता संशोधन विधेयक विरुद्ध कांग्रेसद्वारा जनकपुरमा विरोध प्रदर्शन



जनकपुरधाम : प्रस्तावित नागरिकता विधेयक विरुद्ध नेपाली कांग्रेस नगर कार्य समितिले आज (बुधबार) जनकपुरमा विरोध जुलुस निकालेको छ ।

नेकपा नेतृत्वको सरकारले विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै कांगे्रस नगर कार्य समितिले पिडरियामाई थानस्थित पार्टी कार्यालयबाट विरोध जुलुस निकालेको थियो । पार्टी कार्यालयबाट निकालिएको विरोध रयाली क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै वक्ताहरुले नेकपा नेतृत्वको सरकारले नागरिकता ऐन संशोधन विधेयक ल्याएर मधेस र मधेसीको संस्कृतिकमाथि प्रहार गरी यसलाई मेटाउने प्रयास गरिरहेको आरोप लगाए । नेकपाको यस निर्णयले लैंगिक समानताको खिल्ली उडाएको भन्दै राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णयप्रति उनीहरुले गम्भीर असहमति जनाएका छन् ।

जुलुस प्रदर्शनको क्रममा सहभागीहरुले ‘वैवाहिक अंगीकृत नागरिकताको ७ वर्षे प्रावधान खारेज गर, महिलामाथिको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब वंशजको आधारमा नगरिकता दे, नागरिकता विधेयक बिखण्डनकारी हो,२०६३ को नागरिकता ऐन कायम गर, नागरिकलाई अनागरिक बनाईराख्नु असंवैधानिक हो, नेपाल नागरिकता ऐन २०६३ कै व्यवस्थालाई निरन्तरता देउ, नागरिकता विधेयक खारेजी गर, साम्प्रादिकता बन्द गर’ लगायतका नाराहरु लगाएका थिए ।

विरोध र्यालीमा संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य सरस्वती चौधरी, जिल्ला सभापति महेश शंकर गिरी, उपसभापति संतोष यादव, क्षेत्रिय सभापति कन्हैया लाल कर्ण, क्षेत्र नम्बर ३ (क) का सभापति दिनेश दिपक, क्षेत्र नम्बर ३ (ख) का सभापति शिवजी राय, नगर अध्यक्ष मनोज साह, कांग्रेस नेता गणेश तिवारी, जिवनाथ चौधरी, पंकज महतो, जितेन्द्र प्रसाद साह, प्रफुल्लराज घिमिरे, महिला नेतृहरु निलम कर्ण, विजेता झा, रिंकु साह, गीता भण्डारी, तरुण दलका जिल्ला अध्यक्ष संजय लाभ कर्ण, सुजित मिश्रा, तरुण दलका उपाध्यक्ष राकेश विक्रम साहलगायत करिव सयौंको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्