नेविसंघका नेताहरूप्रति देउवाको आक्रोश, भने- ‘संगठन नबनाउने, मसँग झगडा मात्रै गर्ने?’



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंगठन नेविसंघका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीका अवसरमा नेविसंघले शुक्रबार रत्नपार्कको शान्तिवाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रमा सभापति देउवाले आफू आफू लडेर नेविसंघको संगठन नै सिध्याएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

आफू नेविसंघको अध्यक्ष भएकैले चारचोटि देशको प्रधानमन्त्री बन्न सफल भएको भन्दै उनले अहिले कहाँ छ नेविसंघ ? भन्दै रोष व्यक्त गरे ।

देउवाले भने, ‘डरलाग्दो रोग आएको छ, सामाजिक दूरी कायम गर्नुपर्ने सबै टासिएर बसेका छन् । यस्तो बेला किन कार्यक्रम गर्नुपर्यो, किन भाषण गर्नुपर्यो ? नेविसंघ कहाँ छ ? गाउँमा छ ? स्कुल, कलेजमा छ ? काठमाडौमा दुई–चारजना भएर हुन्छ ?’ नेविसंघको नेता भन्ने अनि काठमाडौंमा बसेर राजनीति गर्नाले संगठन सिद्धिएको देउवाको भनाइ थियो ।

‘नेविसंघ सधै हारेको छ । म पनि नेविसंघको अध्यक्ष भएको हाम्रो पालामा हार्दैनथ्यो । नेविसंघको अध्यक्ष भएको म चारपटक प्रधानमन्त्री भए, यस्तै गतिले तिमीहरू कोही हुन्छौ ? गाउँमा, स्कुल कलेजमा संगठन गर्न नजाने, राजधानीमा बसेर ठुलाठुला भाषण गर्ने । राजधानी बसेर सधैं आपसमा झगडा गरेर मात्रै संगठन बन्छ ? संगठन नबनाउने, मसँग झगडा मात्रै गर्ने ? लाज पनि छैन,’ देउवाले भने ।

प्रकाशन–२०७७ असार, १९

प्रतिक्रिया दिनुहोस्